२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

Nada
लालबाबु बानिया
२०८२ माघ १ गते २०:४९
Shares
नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

पर्सा : बढ्दो चिसोलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीको सहयोगमा पर्साको पोखरिया नगरपालिकामा दुई सय जनालाई न्यानो कम्बल वितरण गरेको छ ।

ncell

पोखरिया नगरपालिका–स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा दलित, गरिब, अतिविपन्न तथा अशक्त महिलासहित करिब २०० जनालाई न्यानो कम्बल वितरण गरिएको हो । कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कठ्याङ्ग्रिने जाडोका कारण विपन्न समुदायले भोग्नुपरेको समस्यालाई केही हदसम्म सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताइन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले देशका विभिन्न स्थानमा यस्ता मानवीय सहयोगका कार्यक्रम गर्दै आएको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, मधेश प्रदेश प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, श्रीमती संघकी बरोडा बराल थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकलगायतले कम्बल वितरण गरेका थिए ।

पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, उपमेयर रुबी ठाकुर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, वडा अध्यक्ष लक्ष्मण साह कानुलगायत समाजसेवी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्थानीयवासीहरूले जाडोको समयमा गरिएको यस सहयोगप्रति नेपाल प्रहरी श्रीमती संघ तथा नेपाल प्रहरीप्रति आभार व्यक्त गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर