
साउदी अरब : साउदी अरबको दुर्गम क्षेत्र हाफर अल–बातिनमा करिब १३ वर्षपछि नेपाली नागरिकहरूका लागि राहदानी नवीकरण तथा वितरण शिविर आयोजना गरिएको छ ।
साउदीको रियादस्थित नेपाली दूतावासको प्राविधिक सहयोग र एनआरएनए साउदीको समन्वयमा शुक्रबार आयोजित उक्त शिविरमार्फत ९८ जना नेपालीको राहदानी नवीकरण भएको छ भने ४ जनाको ‘एक्जिट’ प्रक्रियासमेत दूतावासका कर्मचारीहरूले सम्पन्न गरेका छन् ।
लामो समयदेखि राहदानीको म्याद सकिएर पनि भौगोलिक दूरी र विभिन्न समस्याका कारण रियादसम्म जान असमर्थ रहेका नेपालीहरूलाई यो शिविरले ठुलो राहत प्रदान गरेको छ ।

शिविरको आयोजनामा नेपाली साझा मञ्च साउदीका उपाध्यक्ष राजु केसीको निरन्तर पहल र समन्वय रहेको थियो । करिब ८ महिनाअघि दमामबाट हाफर अल–बातिन स्थानान्तरण भएका केसीले यहाँका नेपालीहरूको अवस्था देखेर उनीहरूको सेवा र हकहितका लागि एनआरएनए आरसिसी हाफर अल–बातिन गठन गरेका थिए । आरसिसी गठनको प्रक्रियामा कुमारी बैंकको योगदान रहेको छ, जसमा बैंकका कन्ट्री हेड होमराज बास्तोला र गल्फ हेड राम लामाले १५ दिनसम्म स्थानीय क्षेत्रमै बसेर नेपाली समुदायलाई एकत्रित गर्न भूमिका निर्वाह गरेका थिए । सोही अभियानको जगमा करिब तीन सय नेपालीको सहभागितामा समिति गठन भई यो शिविरसम्मको यात्रा तय भएको हो ।
शिविरमा एनआरएनए मध्यपूर्व कमिटी संयोजक राजेन्द्र अर्याल, एनसिसी साउदीका अध्यक्ष उमेश भट्टराई र कुमारी रेमिटका होमराज बास्तोलालगायत हाफर अल–बातिन टिमको उपस्थिति रहेको थियो । सेवा लिन आएका नेपालीहरूका लागि आयोजकले चिया, कफी, खाजा र खानाको समेत विशेष व्यवस्था गरेको थियो ।
दूतावासका प्रतिनिधिहरूले समेत कुनै पनि राहदानी शिविरमा यसरी खानपानको व्यवस्था गरिएको यो पहिलो अनुभव रहेको भन्दै आयोजकको प्रशंसा गरेका छन् । दुर्गममा रहेका नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले राज्य र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको स्थानीय नेपालीहरूले बताएका छन् ।
