
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका तीन जना उम्मेदवार बन्ने भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई पूर्वअध्यक्षसहित नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष गरी वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका तीन जना उम्मेदवार हुने भएका हुन् ।
निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । सोमबार साँझसम्म संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बू नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र नं. ४ तथा पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नं. १ र एसोसिएसनका पूर्वअध्यक्ष किरण किशोर घिमिरे दाङ क्षेत्र नं. २ मा उम्मेदवार बन्ने निश्चित भएको छ ।
लिम्बू दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । रानाभाट र घिमिरे पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । घिमिरेसँगै सो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि उम्मेदवार छन् । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य पनि सो क्षेत्रमा उम्मेदवार छन् ।
वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तार गोर्खा क्षेत्र नं. २ र संघका अर्का पूर्वअध्यक्ष बलबहादुर तामाङ ताप्लेजुङबाट उम्मेदवार बन्ने चर्चा रहेपनि दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अन्य व्यक्तिलाई नै उम्मेदवार बनाएको छ ।
व्यवसायी सत्तारले कतिपय व्यक्तिले आफ्नो नाम चर्चामा ल्याएपनि यसपटक आफूले तयारी नगरेको मध्यान्ह दैनिकलाई बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सार्वजनिक गरेका पत्रकार अनिल अधिकारीले पार्टीका तर्फबाट नभई स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको बताए ।
अधिकारीले उम्मेदवारी दिने प्रचार गरेको धादिङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका उपाध्यक्ष तथा पू्र्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ । अर्याल पहिलो पटक प्रत्यक्ष निर्वाचनमा जान लागेका हुन् । यसअघि उनी समानुपातिक सांसद थिए ।