
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न राजनितिक दल निकट व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न क्षेत्रबाट उम्मेदवारी आइरहेका बेला चर्चित व्यवसायी, उद्यमीदेखि लगानीकर्तासमेत चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेपालका डलर अर्बपति तथा उद्योगी विनोद चौधरी नवलपरासी पश्चिम–१ बाट दोस्रोपटक निर्वाचन होमिएका छन् । चौधरी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसभन्दा अघि २०७४ मा समेत नेपाली कांग्रेसका तर्फबाट उनी समानुपातिकतर्फको सांसद थिए ।
यस्तै, व्यवसायी वीरेन्द्रकुमार महतो पनि दोस्रोपटक निर्वाचनमा होमिएका छन् । माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष एवं विभिन्न क्षेत्रमा लगानी गरेका महतो जनमत पार्टीको तर्फबाट सिरहा–४ मा उम्मेदवारी दिएका छन् । महतो २०७९ को निर्वाचनमा सोही क्षेत्रमार्फत जनता समाजवादी पार्टीबाट सांसद बनेका थिए ।
यस्तै, २०७९ को निर्वाचनमा रसुवाबाट निर्वाचित भएका मोहन आचार्य कांग्रेसका तर्फबाट फेरि उम्मेदवार बनेका छन् । आचार्य निर्माण व्यवसायी हुन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले पनि कैलाली–२ बाट उम्मेदवारी दिएका छन् । नवलपुर–१ बाट उद्योग व्यवसायी महासंघ अध्यक्ष भगिरथ सापकोटा समेत एमालेबाट निर्वाचनमा होमिएका छन् ।
साथै, पूर्वबैंकर भरतराज ढकालले स्याङ्जा १ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट चुनावमा होमिएका ढकाल मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता हुन् । ढकालसँगै मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष रहेका मीनप्रसाद गुरुङले प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका छन् ।
अर्को रोचक पक्ष सोही निर्वाचन क्षेत्रमा रास्वपाबाट पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मीको पनि उम्मेदवारी छ ।
यस्तै करेन्ट चाउचाउका उत्पादक यशोधा फुड्स तथा बुटवल अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही–२ बाट निर्वाचनमा होमिएका छन । काँग्रेसबाट चुनावी मैदानमा होमिएका हुन् ।
यस्तै, काठमाडौं–१ बाट पठाओका सञ्चालक असिममान सिंह बस्न्यातको पनि स्वतन्त्र रूपमा उम्मेदवारी रहेको छ भने चितवन–१ मा नेपाली कांग्रेसका तर्फबाट पर्यटन व्यवसायी बासु ढुंगानाको उम्मेदवारी रहेको छ ।
रास्वपाका उपाध्यक्ष डिपी अर्यालसमेत व्यवसायी हुन् । यसअघि पनि निर्वाचन जितेर श्रममन्त्री बनेका अर्यालको पर्यटन, वैदेशिक रोजगार र रेमिट्यान्स क्षेत्रमा लगानी छ । उनले काठमाडौं ९ मा उम्मेदवारी दिएका छन् ।
यस्तै, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी रमेश धमलाको धादिङ–२ मा कांग्रेसको तर्फबाट उम्मेदवारी रहेको छ ।
लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु–३ बाट निर्वाचन लड्दै छन् । २०७९ को प्रदेश सभा सदस्यमा कांग्रेसबाट निर्वाचन लडेर पराजित भएका कनौडिया माघ ३ गते टिकट पाउने सर्तमा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए ।
साथै, मेडिकल कलेज व्यवसायी सुनिल शर्माले मोरङ–३ मा कांग्रसको तर्फबाट उम्मेदवारी दिएका छन् । त्यस्तै, काठमाडौं ८ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचनमा होमिएका सुमन सायमी र काठमाडौं ४ मा नेपाली जनता दलबाट उम्मेदवारी दिएका केम्स सिंह पनि व्यवसायी हुन् ।