
काठमाडौंः वैदेशिक रोजगारीको क्षेत्रमा सक्रिय तपस्या एचआर प्रालिले आफ्नो आधिकारिक वेबसाइटमार्फत एआई प्रविधिमा आधारित अनलाइन च्याटबोट सेवा सुरु गरेको छ । नेपाल सरकारबाट इजाजतपत्र प्राप्त लाइसेन्स नं. १७९४ रहेको तपस्याले डब्लुडब्लुडब्लु डट तपस्याएचआर डटकममा २४ घण्टा सञ्चालन हुने एआई च्याटबोट सार्वजनिक गरेको हो ।
यो सेवा प्रारम्भिक चरणमा रहेको भए पनि आवश्यकताअनुसार क्रमशः थप उन्नत बनाउँदै लगिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा जान चाहने कामदार तथा आवेदकका जिज्ञासा समाधान गर्न केन्द्रित यस च्याटबोटले कम्पनीका कर्मचारी अफलाइन रहेको समयमा पनि निरन्तर सेवा प्रदान गर्नेछ ।
च्याटबोटमार्फत रोजगारी प्रक्रिया, आवश्यक कागजात, देशअनुसारका अवसर, सामान्य नियम, समयावधि तथा प्रारम्भिक जानकारी तुरुन्तै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसले सूचना लिन कार्यालयमा धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
तपस्या एच आरका सञ्चालक मुकेश भण्डारीका अनुसार एआई प्रविधिले रिक्रुटमेन्ट क्षेत्रलाई थप पारदर्शी, छरितो र पहुँचयोग्य बनाउँछ । उनले भने, ‘यो च्याटबोटले रोजगारदाता र रोजगारी खोज्ने दुवैलाई सही जानकारी सही समयमा दिन सहयोग गर्नेछ ।’
उनले थपे, ‘मानव संसाधन व्यवस्थापनमा एआईको प्रयोग अब विकल्प होइन, आवश्यकता बन्दै गएको छ, यस प्रविधिको प्रयोगबाट गलत सूचना, दलाल समस्या र अनावश्यक दौडधुप कम गर्ने हाम्रो लक्ष्य हो ।’
कम्पनीका अनुसार च्याटबोटले प्रारम्भिक मार्गदर्शन मात्र प्रदान गर्नेछ भने अन्तिम प्रक्रिया, कागजी काम र आधिकारिक समन्वय तपस्या एचआरको टिममार्फत नै गरिनेछ । यस सेवाबाट देशभर तथा विदेशमा रहेका नेपालीहरूले समेत सजिलै जानकारी लिन सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
यो एआई च्याटबोट तपस्स्या र रिक्रुटमेन्ट सफ्टवेयर विकासमा सक्रिय सफ्टगृह प्रालिको सहकार्यमा तयार गरिएको हो । उक्त सफ्टवेयर विशेष रूपमा म्यानपावर एजेन्सीहरूको आवश्यकता अनुसार विकास गरिएको बताइएको छ । तपस्याले ‘फ्रम द हिमालयज टू द वल्र्ड’ भन्ने अवधारणालाई प्रविधिसँग जोड्दै वैदेशिक रोजगारी क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ ।