
काठमाडौं : नेपालका दुई प्रमुख म्यानपावर कम्पनी आकर्षण इन्टरनेसनल प्रालि र लाल धनुष इन्टरनेसनल सर्भिसेस प्रालिले शून्य लागत (जिरो कस्ट) मा ८ सय कामदार पठाउँदैछन् । दुई म्यानपावर कम्पनीले मलेसियाको विस्ट्रोन टेक्नोलोजी मलेसिया एसडिएन बिएचडी कम्पनीमा चार सय जनाका दरले कामदार पठाउने छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले ६ सय महिला र २ सय पुरुष गरी ८ सय कामदार पठाउन छनोट प्रक्रिया सुरुवात भएको बताए । दुवै म्यानपावर कम्पनीले कामदार छनोट तथा भर्ना पूर्णरूपमा निःशुल्क, निष्पक्ष र पारदर्शी हुने बताए ।

कामदार छनोटको अन्तर्वार्ता प्रक्रियामा सहभागी हुन मलेसियाबाट कम्पनी प्रतिनिधि काठमाडौं आएका छन् । मलेसियाको पोर्टक्लाङ, सेलाङ्गोरमा प्रमुख कार्यालय रहेको विस्ट्रोन टेक्नोलोजी मलेसिया एसडिएन बिएचडी विश्वव्यापी विस्ट्रोन कर्पोरेसनको एक शाखा हो । उक्त कम्पनीले इलेक्ट्रोनिक्स सामग्रीको उत्पादन गरी अमेरिकालगायतका देशहरूमा निर्यात गरिरहेको छ ।
कम्पनीमा रोजगारीका लागि जाने कामदारको भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण तथा भर्ना प्रक्रियाका अन्य शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने पत्रकार सम्मेलनमा उपस्थित कम्पनी प्रतिनिधि केनीले बताए । उनले दुवै म्यानपावर कम्पनीहरूले नैतिक भर्ना प्रक्रियाका असल अभ्यासहरूलाई इमानदारिताका साथ पालना गरेको पाइएकाले नेपालबाट कामदार पठाउन छनोट गरिएको बताए ।

सन् २०२२ मै विस्ट्रोन टेक्नोलोजी (मलेसिया) एसडिएन बिएचडीले आकर्षण इन्टरनेसनलमार्फत १४० महिला र ६० पुरुष गरी २ सय जना तथा लाल धनुष इन्टरनेसनल सर्भिसेस प्रालिमार्फत १ सय ७५ महिला र ७५ पुरुष गरी जम्मा २ सय ५० जना नेपाली कामदारलाई शून्य लागतमा नैतिक भर्ती प्रणालीअन्तर्गत मलेसियामा वैदेशिक रोजगारी प्रदान गरेको थियो । अध्यक्ष केसीले उक्त महत्वपूर्ण सहयोग र प्रतिबद्धताका लागि कम्पनीप्रति दुवै कम्पनीको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरे ।

नेपाली नागरिकलाई वैदेशिक रोजगारीको अवसर प्रदान गर्नुका साथै शून्य लागतको अभ्यासमार्फत सुरक्षित, मर्यादित र पारदर्शी रोजगारी सुनिश्चित गर्दै देशमा रेमिट्यान्स भित्र्याउन पुर्याएको योगदानको दुवै कम्पनीको तर्फबाट उच्च कदर गरिएको भन्दै उनले उक्त रेमिट्यान्सले देशको अर्थतन्त्र र कामदारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुका साथै वैदेशिक रोजगारीलाई सम्मानजनक र दिगो बनाएको बताए ।
विस्ट्रोन टेक्नोलोजी (मलेसिया) एसडिएन बिएचडीद्वारा सन् २०२२ मा नेपालमै पहिलो पटक सुरु गरिएको नैतिक, न्यायोचित र शून्य लागतको वैदेशिक रोजगार भर्ना प्रक्रियामा सकारात्मक अभ्यास गरेको र भविष्यमा अन्य रोजगारदाता कम्पनीहरूलाई पनि जिम्मेवार बनाउँदै स्वच्छ भर्ना प्रणाली अवलम्बन गर्न प्रेरणा दिने विश्वास लिएको पनि अध्यक्ष केसीले बताए । उनले नैतिक, न्यायोचित र शून्य लागतको वैदेशिक रोजगार भर्ना प्रक्रियामा प्रतिबद्ध रहेका म्यानपावर कम्पनीलाई नेपाल सरकारले प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिए ।

उनले विस्ट्रोन टेक्नोलोजी (मलेसिया) एसडिएन जस्ता कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ना प्रणालीले नेपालमा वैदेशिक रोजगारीको परम्परागत अभ्यासलाई सकारात्मक रूपमा रूपान्तरण गर्दै नीतिगत, सामाजिक, आर्थिक र संस्थागत तहमा बहुआयामिक प्रभाव पारेको पनि अध्यक्ष केसीले बताए ।

शून्य लागतको वैदेशिक रोजगारीले नेपाली कामदारहरूलाई ऋणको बोझबिना सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारी सुनिश्चित गरेको भन्दै अध्यक्ष केसीले भर्ना प्रक्रियामा हुने अनावश्यक शुल्क, दलाल प्रथा, जबरजस्ती ऋण र ठगीजस्ता समस्याहरू समाधान गरेको बताए । उनले शून्य लागतले वैदेशिक रोजगारीलाई बाध्यताको विकल्प नभई अवसरका रूपमा स्थापित गर्ने र कामदारहरूको आम्दानी, बचत, परिवारको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारमा सहयोग पुर्याएको समेत बताए ।
लाल धनुष इन्टरनेसनल सर्भिसेस प्रालिकी सञ्चालिका निमदिगु शेर्पाले शून्य लागतको असल अभ्यासले कामदारको मानवअधिकार सुनिश्चित गरेको भन्दै मलेसियाको विस्ट्रोन टेक्नोलोजी (मलेसिया) एसडिएन बिएचडी र नेपालका साझेदार एजेन्सीहरूबीच नैतिक भर्ना र रोजगारदाता पे प्रिन्सिपल अनुसारको साझेदारीलाई औपचारिकता प्रदान गरी वैदेशिक रोजगार प्रणालीमा विश्वास र पारदर्शिताको बलियो आधार निर्माण गरेको बताइन् ।

पत्रकार सम्मेलनमा लाल धनुष इन्टरनेसनल सर्भिसेसका अध्यक्ष आङ नवाङ शेर्पाले कम्पनीमा करारअनुसारको काम, आवास, ओभरटाइमलगायतका सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको भन्दै कामदारको अत्यन्तै आकर्षण रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आकर्षण इन्टरनेसनल प्रालिका म्यानेजिङ डाइरेक्टर मिलन थापा, ग्लोबल कम्प्याक्ट नेपाल प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शारदा थापाले गरेकी थिइन् ।