
काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूह भावी प्रधानमन्त्री तोकेर जान राजी भएका भए कांग्रेसको राजनीति अहिलेको मोडसम्म नआउन पनि सक्थ्यो । विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट देउवालाई भावी प्रधानमन्त्री तोक्न र देउवा चुनावमा नउठ्न दबाब दिइरहेको थियो । अन्तिम बिन्दुमा यही प्रस्ताव अस्वीकार गर्दा न देउवा सभापति रहे न त चुनावमै गए । बरु गगन थापाका लागि भावी प्रधानमन्त्रीको बाटो खुल्यो ।
विशेष महाधिवेशनबाट निर्वाचित भई शुक्रबार पद बहालीका लागि पार्टी मुख्यालय सानेपा जाँदा नै कार्यकर्ताले सभापति थापालाई ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए । पदबहालीसँगै कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको चुनावमा जाने निर्णय गरेको छ ।
संसदीय राजनीतिमा निर्वाचनपूर्व नै भावी प्रधानमन्त्री घोषणा गरेर जाने परम्परा कमै छ । तर ६० को दशकमा नेपाली राजनीतिमा सुरु भएको अभ्यास ७० को दशकमा खासै चर्चामा भएन । २०७४ को आमचुनावमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर मैदानमा उत्रिएको थियो । यसपटक भने मुख्य प्रतिस्पर्धी ठानिएका दलहरूले शीर्ष नेतालाई भावी प्रधानमन्त्री घोषणा गर्दै चुनावमा उत्रिएका छन् । कांग्रेसले थापा, एमालेले ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । ओली र शाह एउटै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्दै छन् । त्यसैले यी दुईमध्ये एकको प्रधानमन्त्री हुने सपना २१ फागुनमै तुहिनेछ । निर्णय गरेरै भावी प्रधानमन्त्री नभनिए पनि त्यो दौडमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसमेत देखिन्छन् । एउटै दलको बहुमत नआउने परिस्थितिमा आफू पुनः देशको प्रधानमन्त्री बन्न सक्ने विश्लेषणमा उनी छन् । भर्खर खुलेको श्रम संस्कृतिले हर्क साम्पाङलाई भावी प्रधानमन्त्री भनेको छ भने उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अबको प्रधानमन्त्री देखेको छ ।
नेपाली राजनीतिमा भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने अभ्यास २०५६ को आमचुनावबाट सुरु भएको हो । २०४८ को आमचुनावमा कांग्रेसले बहुमत जिते पनि आपसी कलहले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराए । २०५१ को निर्वाचनपछि एमाले संसद्को सबैभन्दा ठुलो दल बने पनि बहुमत पुर्याउन सकेन । त्रिशंकु संसद्ले थुप्रै संसदीय विकृति निम्त्यायो । कांग्रेसबीचको आन्तरिक विवाद मिलाउन कोइरालाले नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने निर्णय लिए । एमालेले पनि पार्टी अध्यक्ष मनमोहन अधिकारीलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावमा होमियो । तर चुनावी प्रचार सभामै बेहोस भएर ढलेका अधिकारीको १३ वैशाख २०५६ मा मृत्यु भयो । त्यसपछि दुई दशकपछि २०७४ मा मात्र एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको हो ।
काठमाडौंमा निरन्तर चुनाव हारेका भट्टराई पर्सा गएर चुनाव जितेर प्रधानमन्त्री त बने तर उनको सरकार कोइरालाले १० महिनामै ढाले । त्यसपछि भावी प्रधानमन्त्रीप्रति कांग्रेसमा खासै मोह देखिएको थिएन । पछिल्लो जेनजी आन्दोलनपछि पुराना अनुहारप्रति नयाँ पुस्ताले आक्रोश पोखे । देउवा स्वयं अराजक समूहबाट अमानवीय कुटपिटमा परे । त्यो आक्रोशलाई देखाएर गगन–विश्व समूह नेतृत्व परिवर्तनको पक्षमा अडान लिएको थियो ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए । जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्न अन्य पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारभन्दा योग्यता, क्षमता, भिजन र आधारमा सभापति थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको शर्माको दाबी छ ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका सभापति थापा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् । विगतका तीनवटा निर्वाचनमा काठमाडौं–४ बाट निरन्तर जितेका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर तराई झरेका हुन् । सभापतिको कुर्सीमा बसेपछि थापाले पहिलोपटक पार्टीको आधिकारिक लेटरप्याडमा लेखेका छन्, ‘बदल्यौं कांग्रेस, बदल्छौं देश ।’
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका थापाले यसअघि नै ‘मिसन पिएम’को अभियान चलाएका थिए । २०७९ को निर्वाचनपछि उनी पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलमा चुनाव लडेका थिए । संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासमेतको सहयोगमा देउवासँग प्रतिस्पर्धा गरेका थापालाई ८८ मध्ये २५ जना संसदले मत दिएका थिए ।
ओली भर्सेस बालेन
सबैभन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको हो । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेर काठमाडौं महानगरका मेयर जितेका बालेन शाह आफू प्रधानमन्त्री उम्मेदवार बन्ने सर्तमा रास्वपा प्रवेश गरेका हुन् । पार्टी सभापति रवि लामिछाने भए पनि बालेनलाई पार्टीमा ल्याएर मत बढाउने योजनासहित पार्टी प्रवेश नहुँदै भावी प्रधानमन्त्री घोषणा गरिएको थियो ।
काठमाडौं महानगर पालिकाका मेयर शाह आफ्नो कार्यकाल नसकी जनताप्रति पाँच वर्ष काम गर्ने प्रतिबद्धताविपरीत प्रतिनिधि सभाको निर्वाचनमा लागेको भन्दै टिप्पणी भइरहेको छ । ओली र बालेनको प्रतिस्पर्धाले झापा ५ को चुनाव रोचक बनेको छ । ओलीको परम्परागत निर्वाचन क्षेत्रमै गएर चुनौती दिएका बालेनप्रति वैकल्पिक राजनीतिक शक्तिको भरोसा देखिन्छ । आफूलाई नै निशाना बनाइएपछि पूर्वप्रधानमन्त्री ओली चुनाव जित्न अनेक उपाय निकाल्दै छन् । अघिल्ला चुनावहरूमा आफ्नो गृह जिल्लामा ढुक्क हुने ओली यसपटक भने ढुक्क देखिँदैनन् । त्यसैले घरदैलो र वडा भेलामा व्यस्त छन् । सामाजिक सञ्जालमा बालेनप्रति आकर्षण देखिए पनि नागरिकस्तरमा उनको प्रभाव अहिल्यै आंकलन गर्न भने मुस्किल छ ।
तर पुराना नेताप्रतिको वितृष्णा र अविश्वासका कारण उनी निर्वाचित हुने सम्भावना नकार्न नसकिने राजनीतिक विश्लेषक बताउँछन् । ओलीको स्थायी निर्वाचन क्षेत्रमा बालेको सशक्त इन्ट्रीले झापा–५ लाई चुनावको इपिसेन्टर बनाइदिएको छ । तराई मूलको एउटा नेता प्रधानमन्त्री बन्ने योजना लिएर मधेसमा जाँदा समानुपातिक मतसमेत बढ्नेमा रास्वपा नेताहरू ढुक्क छन् । अनेक विवाद र सहकारी ठगीका मुद्दामा अल्झिएका लामिछानेले रास्वपालाई चुनाव जिताउन बालेन कार्डको भरपुर प्रयोग गरेका छन् ।
ओलीलाई एमालेले २०७४ यताका सबै निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आएको छ । २०७४ को चुनावमा एमाले–माओवादी केन्द्र गठबन्धन बन्दासमेत उनलाई नै अघि सारिएको थियो । २०७९ मा कांग्रेस–माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन बनेका बेला पनि एमालेले ओलीको विकल्प खोजेन । अहिले २३–२४ भदौको जेनजी आन्दोलनताका प्रधानमन्त्री रहेका ओली तत्कालीन सरकारको दमनले असन्तुष्ट जनमतबीच भोट माग्न जाँदै छन् । यसबीचमा उनको विकल्प खोज्ने प्रयत्न नभएको होइन । तर अर्ली महाधिवेशनबाट पनि उनी नै अनुमोदित भए । अन्ततः तीनपटक प्रधानमन्त्री भइसकेका ओलीलाई नै अघि सारेर एमाले चुनावमा गएको छ ।
उता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट मनोनयन दर्ता गरेका छन् । उनले मतदातामाझ भनेका छन्, ‘म जहाँ गयो, त्यही हेडक्वार्टर हुन्छ ।’ प्रचण्डको यो अभिव्यक्तिले आफू निर्वाचनपछि प्रधानमन्त्री बन्ने र रुकुमलाई सरकारको केन्द्रमा राख्ने संकेत गरेको छ । हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै निर्वाचित हुँदै आएका दाहाल यसपटक पनि चुनाव जित्नेमा ढुक्क छन् । संसदीय राजनीतिका माहिर खेलाडी दाहाल निर्वाचनपछि संसदमा दलहरूको अवस्था कस्तो रहन्छ ? त्यहीअनुसार रणनीति बनाएर प्रधानमन्त्रीको कुर्सीमा पुग्ने योजनामा छन् ।
हर्क–कुलमानलाई पनि आश
श्रम संस्कृति पार्टी दर्ता गरेर प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक भाग लिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफैंले भावी प्रधानमन्त्री घोषणा गरेका छन् । जनतामाझ पाँच वर्षका लागि स्थानीय सरकार प्रमुख भएरै सेवा गर्ने प्रतिबद्धता तोडेका उनले पाँच वर्ष संघीय सरकार चलाउनेगरी मत मागिरहेका छन् । कोशी प्रदेशमा आफ्नो दलको पहिचान बनाए पनि उनको देशव्यापी नेटवर्क देखिँदैन । उनको भावी प्रधानमन्त्रीको दाबीलाई आमरूपमा खासै महत्व नदिइए पनि पूर्वी क्षेत्रमा उनको प्रभाव देखिन्छ । भावी प्रधानमन्त्री घोषणा गरेर जाने नेताहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङसमेत छन् । उनीहरूलाई पनि पार्टीको सिट बढाउने चुनौती त्यत्तिकै छ । तर नेताहरूले सस्तो लोकप्रियताका लागि जसले पनि प्रधानमन्त्रीको दाबी गर्दैमा नागरिकले पत्याएर भोट हाल्ने अवस्था नरहेको विश्लेषक कुलचन्द्र वाग्लेको दाबी छ ।