
काठमाडौं : परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको बताउँदै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक अन्य नागरिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थिति नरहेको बताए ।
खाडी क्षेत्रका मुलुकमा कार्यरत १९ लाख बढी नेपालीमध्ये ४५ हजारले स्वदेश फर्किने आशयले आफ्नो विवरण नेपाली दूतावासहरूमा टिपाएको अवस्थामा परराष्ट्र मन्त्रालयले तत्काल उद्धार गरेर नेपाली नागरिकलाई स्वदेश ल्याउनुपर्ने अवस्था आइनसकेको बताएको हो । मन्त्रालयले अनलाइन फारममार्फत असुरक्षित भएको महसुस गर्नेमा करिब पाँच हजार नेपाली नागरिक रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतकुमार राईले अहिलेसम्मको घटनाक्रम विश्लेषणअनुसार नेपाली नागरिकको जीवनमाथि जोखिम उत्पन्न भई उद्धार गरेर स्वदेश ल्याइहाल्नुपर्ने अवस्था नआएको बताए । उनले भने, ‘केही नेपाली चिन्तित र विचलित नहुनुहोला । तर उद्धार गरिहाल्नुपर्ने अवस्था देखिएको छैन ।’
सचिव राईले पश्चिमा मुलुकले विशेष कारणवश मात्रै आफ्नो देशका नागरिकलाई स्वदेश फर्काएको भएपनि नेपालबाहेक बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशले आफ्नोतर्फबाट उद्धार गरिनसकेको बताए । उनले थप प्रतिकूल अवस्था उत्पन्न भएमा उद्धार गर्न नेपाल सरकार सक्षम रहेकोे दाबीसमेत गरे ।
इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म युएईमा १५ जना नेपाली सामान्य घाइते भएका छन् भने १४ जना उपचारपछि काममा फर्किसकेको परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले जानकारी दिए । एक जनाको उपचार जारी रहेको र उनको अवस्था सामान्य रहेको पनि सहसचिव खड्काले जानकारी दिए । यसअघि युएईमा आक्रमणमा परी गोरखाका विवेक श्रेष्ठको मृत्यु भएको थियो ।
इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ ।
अमेरिका–इरान युद्ध सुरु भएपश्चात् फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै स्थगन गरिएको हवाई उडान भने आंशिक रूपमा सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार एयर अरेबिया, फ्लाइ दुबई र हिमालय एयरलाइन्सले दुबईमा विगत चार दिनदेखि आंशिक रूपमा उडान गरिरहेका छन् ।