२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

कोरियामा कामदार दुर्घटनामा घाइते हुने क्रम बढ्यो

shivam cement
२०८२ माघ ११ गते ०६:१५
Shares
कोरियामा कामदार दुर्घटनामा घाइते हुने क्रम बढ्यो

काठमाडौं : दक्षिण कोरियामा आप्रवासी कामदार औद्योगिक दुर्घटनामा घाइते तथा अंगभंग हुने क्रम बढेको छ । सन् २०२० मा ८ हजार ६२ जना आप्रवासी कामदार दुर्घटनामा परेको दक्षिण कोरियामा सन् २०२२ मा ८ हजार ८ सय ८६ र सन् २०२४ मा उक्त संख्या  १० हजार १ सय ६१ पुगेको छ । त्यसमा नेपाली कामदारहरूको संख्या उल्लेख्य रहेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

फार्ममा काम गर्दा हातका चार औंला गुमाएका कारण औषधिको झोला र कृत्रिम हात लगाउन बाध्य नेपाली कामदार सुमेश वर्माको तस्बिरसहित छापिएको समाचारमा औद्योगिक दुर्घटनाहरू आप्रवासी कामदारका लागि कठोर बनेको उल्लेख छ ।

३८ वर्षीय वर्मा सन् २०२३ मा उत्तरी जेओला प्रान्तको एक कृषिको फार्ममा दाना मिलाउने मेसिनमा परेर दुर्घटनामा परेका थिए । अनुसन्धान प्रतिवेदनअनुसार आप्रवासी कामदारहरूमा औद्योगिक दुर्घटना मृत्यु दर घरेलु कामदारहरूको तुलनामा साढे तीन ३ गुणा बढी देखिएको छ ।

कार्यस्थलमा हुने दुर्घटनामा घाइते भएका आप्रवासी कामदारहरूले दायर गरेको औद्योगिक दुर्घटना दाबीको संख्या पनि लगातार बढेको बताइएको छ ।

नेपाल सरकारले  सफल ठानेको रोजगार अनुमति प्रणाली (इपिएस) बारे कोरियाभित्र भने व्यापक असन्तुष्टि बढेको छ । इपिएसअन्तर्गत लगिएका कामदारहरूलाई कार्यस्थल परिवर्तन गर्न प्रतिबन्ध लगाइँदा उनीहरू प्रायः मौन बस्नुपर्ने बाध्यता रहेकोे लामो समाचार केही समयअघि कोरियन दैनिक ‘द कोरिया हेराल्ड’ले पनि छापेको थियो ।

नेपाली कामदार विशाल बिकको पीडामा आधारित सो समाचारमा उनलाई एक धातु कम्पनीमा काम गर्न भिसा दिइएको भएपनि प्लेटिङको काम दिएर अन्याय गरेको उल्लेख थियोे । बारम्बार धातुका ठुलाठुला पार्टपुर्जा उठाउनु र बोक्नु पर्दा हातमा चोट पुर्‍यायो । शारीरिक असरको अतिरिक्त उनलाई मौखिक रूपमा दुव्र्यवहार गरी जुत्ताले कुटपिट गरी अनुहारमा तातो कफी पनि फ्याँकिएको थियो ।

लामो समय समस्या भोगेपछि उनले आफ्नो रोजगारदातालाई घर फर्किने अनुमति मागे ।  तर बदलामा हाकिमले उनलाई काम र तलब दिन बन्द गरे भने अर्को कम्पनीमा स्थानान्तरणका लागि अनुमति पनि दिएनन् ।

नेपालमा अत्यन्तै आकर्षक मानिएको इपिएस प्रणालीको रोजगारको भित्री भागमा दर्दनाक पीडा लुकेको पीडित कामदारहरूको भनाइ छ । खाडी तथा मलेसिया जस्तो सहज तरिकाले पीडाको सुनुवाइ नभएर निस्सासिएर काम गर्नुपर्ने कतिपयको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर