
काठमाडौं : न्यूनतम तलबसहित मलेसियन मुद्रा र अमेरिकी डलरको वृद्धिले मलेसियामा काम गर्ने नेपालीको तलब अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ । गत वर्ष जनवरीसम्म मासिक न्यूनतम १५ सय रिंगेट कमाउने नेपाली कामदारले त्यतिबेला करिब ४५ हजार रुपैयाँ पाउँथे भने हाल न्यूनतम ६३ हजार २ सय रुपैयाँ हात पारिरहेका छन् ।
गत वर्ष फेब्रुअरीदेखि नै मलेसियामा काम गर्ने स्वदेशी तथा विदेशी सबै कामदारको न्यूनतम तलब २ सय रिंगेट बढेर १७ सय रिंगेट भएको थियो । त्यतिबेला एक मलेसियन रिंगेटको ३० रुपैयाँ हाराहारीमा रहेको सटहीदर मंगलबार ३७ रुपैयाँ १७ पैसा पुगेको छ ।
दक्षिणपूर्वी एसियामा रिंगेट यतिबेला सबैभन्दा बलियो मुद्राको रूपमा अगाडि देखिएको छ । मलेसियन अर्थतन्त्रले गरिरहेको तीव्र प्रगतिले यस वर्षको अन्त्यसम्म १ मलेसियन रिंगेटको सटहीदर ४० रुपैयाँ पुग्ने कतिपयको विश्लेषण रहेको छ ।
मलेसियन रिंगेटको सटही तीन मात्रै बढेमा त्यो नेपाली मुद्राको तुलनामा ८ प्रतिशत बढीको वृद्धि हुन जाने छ । तलबमा भएको वृद्धिसँगै मलेसियन रिंगेटको सवलता र अमेरिकी डलरमा पनि भएको मूल्य वृद्धिले यतिबेला मलेसियामा कार्यरत नेपाली कामदारका लागि दुवै हातमा लड्डु जस्तो देखिएको छ ।
कोरोनापछि लामो समय मलेसियाको अर्थतन्त्र मन्दीमा गएपछि धेरैजसोका लागि मलेसियाको रोजगारी अरुचिकर थियो । कतिपयले ‘मलेसिया ?’ भनेर मलेसियाको रोजगारीलाई खाडी मुलुकको तुलनामा कम देखाउने गरेका थिए । तर ‘पालो सबैको आउँछ’ भनेझैं अहिले पालो मलेसियाको आएको धेरैको टिप्पणी छ ।
मलेसियामा अन्य क्षेत्रमा कार्यरत नेपाली कामदार तलब तथा स्थानीय मुद्रा र अमेरिकी डलरको मूल्य वृद्धिले लाभान्वित भएपनि सुरक्षागार्डको काम गर्ने कतिपय नेपालीहरू भने असन्तुष्ट रहेका छन् । उनीहरूको न्यूनतम तलब नपाएको गुनासो बढेपछि मलेसिया सरकारले नेपाली सुरक्षागार्ड कार्यरत ३५ वटा सुरक्षा कम्पनीको निरीक्षण गरेको छ । केही कम्पनीले बढेको तलब र बिदा नदिएको उजुरी ह्वाट्सएप र इमेलमार्फत दैनिक सयौंको संख्यामा दर्ता हुने गरेका छन् ।
नेपाली सुरक्षागार्डहरूलाई १२ घण्टासम्म काम लगाएर १७ सयदेखि बढीमा दुई हजारसम्म तलब दिएको समाचार मलेसियाली सञ्चारमाध्यम द स्टारले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासले न्यूनतम १७ सय रिंगेट तलबको बैंक ट्रान्सफरको स्लिप, सामाजिक सुरक्षा कोष र सेवा सुविधा सुनिश्चित नगरेसम्म मागपत्र प्रमाणीकरण नगर्ने बताएको छ । तर सुरक्षागार्डहरूले बढेको तलब नपाउने समस्या समाधान हुन नसकेको बताइएको छ ।