२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

महँगियो भान्सा

shivam cement
छबि सापकोटा
२०८२ माघ १४ गते ०६:३५
Shares
महँगियो भान्सा

काठमाडौं : एक सातायता खाद्यान्न तथा तरकारीको मूल्य हरेक दिन बढिरहेको छ । देशभर चुनावी सरगर्मी बढिरहेका बेला दैनिक उपभोग्य वस्तुको मूल्य पनि सँगसँगै उकालो लागेको हो । 

खुद्रा बजारमा अहिले खाने तेलको मूल्य ह्वात्तै बढेको छ । १० दिनअघि २ सय ५० रुपैयाँ प्रतिलिटर पाइने सनफ्लावर तेल अहिले ३० रुपैयाँ मूल्य बढेर २ सय ८० रुपैयाँसम्म पुगेको छ । यस्तै, लङगे्रन बासमती, जिरा मसिनो चामलको मूल्यसमेत बोरामा १ सय ५० रुपैयाँसम्म बढेको छ । 

मैदा, आँटाको मूल्यमा पनि प्रतिकेजी १० रुपैयाँ बढाइएको छ । यस्तै, अण्डा, माछा, मासुदेखि हरियो तरकारीको मूल्यसमेत ह्वात्तै बढेको छ । दैनिक उपभोग्य समानको मूल्य बढ्दा उपभोक्ताको भान्सा एकाएक महँगिन पुगेको छ । सर्वसाधारणको ध्यान चुनावतिर गएकाबेला भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारी निकायको उदासीनता देखिएको छ । 

नयाँ बानेश्वरकी शर्मिला श्रेष्ठले महँगीले गर्दा समान किन्नै नसक्ने अवस्था आएको बताउँछिन् । उनले भनिन्, ‘एक साताअघि र अहिले हरेकजसो समानको मूल्य फरक छ । व्यवसायीले अझै महँगिन्छ लैजाने भए अहिले लौजानुहोस् भन्न थालेका छन् ।’ 

चुनावकै मुखमा भएको चर्को मूल्यवृद्धिमा पनि कुनै पनि दल र उपभोक्ता हितका संघसंस्थाले विरोध नगरेकोमा उनले गुनासो गरिन् । ‘चुनावमा सधैं महँगी बढ्छ । अहिले पनि नेतालाई चुनाव लागेको छ, हामीलाई महँगी,’ उनले भनिन् । 

फागुन २१ गते चुनावको चहलपहल बढेसँगै व्यवसायीले आफूखुुसी हरेक दिन नयाँ मूल्य तोकिरहेका छन् । एक महिनायता उपभोक्ताले सहजै ग्याससमेत पाउन सकेका छैनन् ।

अर्कोतर्फ, तरकारीको मूल्य पनि बढेको छ । जबकि किसानले साबिकमै मूल्यमा तरकारी बेचिरहँदा उपभोक्ताले भने महँगोमा किन्नुपरेको छ । यसले बिचैमा बिचौलियाको चलखेल बढेको पुष्टि हुने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले व्यवसायीहरू चुनावलाई देखाएर कमाउ धन्दामा लागेको बताउँछन् । ‘सरकारको ध्यान पनि चुनावमा हुँदा व्यवसायीहरूले यसैलाई बहाना बनाएर मूल्य बढाइरहेका छन्,’ उनले भने, ‘नागरिक बिहान बेलुकाको भान्सासँग जोडिएको विषय अहिले अनुगमन नहँुदा बजारमा महँगी बढेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा डलरको बहाना बनाएर व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य बढाएका हुन् । त्यस्तै, ढुवानी ट्यांकरहरूको कारण देखाउँदै ग्यासको समेत अभाव सिर्जना गरिएको छ । ‘नागरिक सरकार छ भनिरहेका छौं तर नागरिकले महँगीको मारमा हुँदा सरकारलाई चासो नै छैन,’ तिमल्सिनाले भने ।  

नेपाल खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठ पनि बजारमा महँगी बढेको स्वीकार्छन् ।  माघ १ गतेयता तेल, चामलको मूल्य बढेर आएको उनको दाबी छ । ‘डलरको भाउ बढेकाले मूल्य बढ्यो भनेर उद्योगीबाटै मूल्य बढाएर पठाएका छन्,’ उनले भने, ‘अहिले हरेक दिन तेलको मूल्य बढेर आइरहेको छ । अस्ति किनेको र आज किनेकोमै फरक भइरहेको छ ।’ एकाएक मूल्यवृद्धिले पसलपिच्छे समानको मूल्य फरकफरक छ ।

सम्बन्धित खबर