
काठमाडौं : दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि गहन छलफल गरेकी छन् ।
बिहीबार दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासमा नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनसँग भएको शिष्टाचार भेटमा उक्त छलफल भएको हो । विशेषगरी दक्षिण कोरियाको ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बिमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा पनि राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूत जिओनसँग छलफल गरी समन्वय तथा सहकार्य गर्न आग्रह गरेकी छन् ।
उनीहरूबीच कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा दूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको नेपाली दूतावासले जनाएको छ । भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवर्धन गर्ने वातावरण निर्माणका लागि आग्रह गरेकी छन् ।
नेपाली दूतावासका अनुसार राजदूत तुम्बाहाम्फेले हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।
दूतावासले निकट भविष्यमा ग्वाङ्जु क्षेत्रमा बृहत् लगानी सम्मेलन आयोजना गर्ने सोच राखेको र सोका लागि सम्भाव्य लगानीकर्ताहरूको पहिचान र पहल गर्न राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतलाई आग्रहसमेत गरिन् ।
सोही अवसरमा अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले ग्वाङ्जु क्षेत्रमा हालसम्म आफूले सम्पन्न गरेका गतिविधि, आफ्नो कार्यप्रगति तथा आगामी दिनमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने योजना र पहलहरूबारे राजदूत तुम्बाहाम्फेलाई अवगत गराए ।
नेपालप्रति विशेष आत्मीयता राख्ने अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओन आफूलाई ‘नेपालको छोरा’ भन्न रुचाउँछन् । हालसम्म २१ पटक नेपाल भ्रमण गरिसकेका उनी २०७२ सालको भूकम्पका बेला पहिलो कोरियाली राहत टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए । उनले कोरियाली चिकित्सकसहितको ठुलो टोली लिएर नेपालको उक्त विपद्को घडीमा उल्लेखनीय सहयोग पुर्याएका थिए । उनको उक्त योगदानले नेपाल–कोरियाबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ ।