२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अनलाइन फारमको नाममा ठगी बढेपछि विभागले तोक्यो सेवा शुल्क

Nada
२०८२ माघ २० गते ०६:१५
Shares
अनलाइन फारमको नाममा ठगी बढेपछि विभागले तोक्यो सेवा शुल्क

काठमाडौं : वैदेशिक रोजगार विभागले अनलाइन फारम भरिदिँदा बढीमा तीन सय रुपैयाँ सेवा शुल्क लिन पाउने बताएको छ । विभागले आइतबार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्दा पूरा गर्नुपर्ने सर्तहरू सार्वजनिक गर्दै उक्त दररेट तोकेको हो । विभाग आसपास सटर लिएर बसेका केही बिचौलियाले १० हजार रुपैयाँसम्म लिने गरेको सार्वजनिक भएको थियो ।

ncell

वैदेशिक रोजगार विभागमा छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी हुने प्रवृत्ति नरोकिएपछि केही समयअघि विभागले बिचौलिया रोक्न प्रहरी नै परिचालन गर्नुपरेको थियो । छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले करिब दुई दर्जन व्यक्तिलाई पक्राउसमेत गरेको थियो ।

तर त्यसपछि पनि अनलाइन श्रम र लेखापढीका कार्यालय खोलेकाहरूले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई विभिन्न प्रलोभन र घेराबन्दीमा पारेर बार्गेनिङ गरेर हैरानी दिन नछोडेको विभागको भनाइ छ । विभागले ‘क्यास लेस, फेस लेस’का आधारमा वैदेशिक रोजगार प्रशासन सञ्चालन गरिरहेको बताएको छ । तर  पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत सार्वजनिक गर्ने कुपनमा चलखेल गर्ने बिचौलियाहरूले श्रम स्वीकृतिका लागि विभागमा जानेहरूलाई हैरानी दिने र कतिपय बिचौलियाले अनुसन्धानका कर्मचारीसँग मिलेर व्यक्तिगत लेनदेनका कारोवारलाई पनि वैदेशिक रोजगार ठगीको परिभाषा अन्तर्गत पारेर उजुरी दर्ता गराउने, पक्राउ पुर्जी जारी गरिदिने भन्दै सेवाग्राहीसँग रकम मोलमोलाइ गर्ने गरेको पनि बताइएको छ ।

विभागले श्रम स्वीकृतिका लागि अनलाइन फारम निःशुल्क पाइने भन्दै अनिवार्य रूपमा निवेदकले आफ्नै मोबाइल नम्बर प्रयोग गर्नुपर्ने बताएको छ । तर बिचौलियाहरूले सेवाग्राहीलाई थाहै नदिई सुटुक्क अनलाइन फारममा आफ्नो नम्बर हाली सेवाग्राहीलाई अलमलमा पार्ने प्रवृत्ति नहटेको कतिपयको दाबी छ ।

श्रम स्वीकृतिका लागि निवेदकले सामाजिक सुरक्षा कोषमा २ हजार ५ सय ९६ रुपैयाँ, वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ र म्यादी जीवन बिमामा उमेर अनुसार  ५ हजार ४ सय ६३ सम्म तिर्नुपर्ने प्रावधान छ । तर बिचौलियाहरूले शीर्षक अनुसार जानकारी नदिई एकमुस्ट भन्दै तोकिएभन्दा धेरै रकम लिने गरेको गुनासो कतिपय सेवाग्राहीको छ ।

ताजा खबर

सम्बन्धित खबर