२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रेमिट्यान्सले अर्थतन्त्रको बाह्य क्षेत्र झन् बलियो

shivam cement
छबि सापकोटा
२०८२ माघ २० गते ०६:२५
Shares
रेमिट्यान्सले अर्थतन्त्रको बाह्य क्षेत्र झन् बलियो

काठमाडौं : वैदेशिक रोजगारी गएका नेपालीले कमाएर पठाएको रेमिट्यान्सले अर्थतन्त्रको बाह्य सूचक बलियो बन्दै गएको छ । रेमिट्यान्स भित्रिने रकम प्रत्येक महिना रेकर्ड ब्रेक गर्दै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । 

पुसमा मात्र  १ खर्ब ९२ अर्ब रेमिट्यान्स आएको छ । गत वर्ष पुसमा १ खर्ब २२ अर्ब रेमिट्यान्स आएको थियो । यसरी रेमिट्यान्स रकम बढ्दै जानुमा वैदेशिक रोजगारीका लागि विदेशको संख्या र डलरको मूल्यवृद्धिसमेत रहेको छ । 

यसरी बाह्य सूचक बलियोभन्दा नेपाल सरकारको नगद मौज्दातसमेत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा सरकारको नगद मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड मात्र थियो । ६ महिनामा दोब्बरभन्दा बढी नगद सरकारको खातामा जम्मा भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकले विदेशी सञ्चिति र रेमिट्यान्सले मुलुकको अर्थतन्त्र बलियो अवस्थामा देखिएको हो । जसका कारण अर्थतन्त्रका बाह्य सूचक बलियो अवस्थामा पुगेको छ । अर्थशास्त्री डा. रघुवीर विष्टले सरकारको खर्च गर्ने क्षमता नहुँदा नगद मौज्दात बढेको बताउँछन् । ‘आन्दोनलपछि बनेको सरकारले बजेट कार्यान्वयन गर्न सकेको छैन,’ उनले भने, ‘संसदले अनुमोदन गरेको बजेटमा चालु बजेट खर्च भए पनि आर्थिक वर्षको ६ महिनामा चालु खर्च भए पनि विकास खर्च भएको छैन । त्यसैले स्वाभाविक रूपमा सरकारको ढुकुटी बलियो देखिएको हो ।’

आन्तरिक अर्थतन्त्रभन्दा बाह्य क्षेत्रमा सूचकहरूको निरन्तर सुधारले सरकारको ढुकुटीसमेत बलियो अवस्थामा रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुुसार मुलुकको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव १ प्रतिशतले बढी हो । 

२०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकमा अमेरिकी डलरको बचत गत असारको भन्दा १५ दशमलव २ प्रतिशतले बढेर २२ अर्ब ४७ करोड पुगेको छ । गत असारमा अमेरिकी डलरमा १९ अर्ब ५० करोड रहेको थियो कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९ दशमलव ४ प्रतिशतले बढेर २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ३६ दशमलव २ प्रतिशतले वद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड कायम भएको छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ३ प्रतिशत रहेको छ ।

विदेशी सञ्चितिले आर्थिक वर्ष २०८२/८३ को ६ महिनासम्मको आयातलाई आधार मान्दा २१ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यस्तै शोधनान्तर स्थिति ५ खर्ब रुपैयाँभन्दा बढीले बचतमा छ । पुस मसान्तसम्म शोधनान्तर स्थिति ५० खर्ब १ अर्ब २४ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड मात्र बचतमा रहेको थियो । 

यस्तै, चालु खाता ४ सय २९ अर्ब ९१ रुपैयाँ करोडले बचतमा रहेको छ । अर्थशास्त्री विष्टले भने, ‘सरकारले खर्च गर्न नसक्दा बाह्य सूचकले अर्थतन्त्र बलियो देखिएको भए पनि आन्तरिक अर्थतन्त्र गतिशील हुन सकेको छैन ।’

सम्बन्धित खबर