काठमाडौं : वैदेशिक रोजगार विभागले अनलाइन प्रविधिका माध्यमबाट सेवा प्रवाहमा चुस्तता ल्याएको भन्दै त्यसको प्रतिफल वैदेशिक रोजगारीमा जाने कामदारलाई दिन आग्रह गरेकोे छ । अनलाइन प्रविधिका माध्यमबाट श्रम स्वीकृति प्रदान गरेर सेवा सहज पारेपछि वैदेशिक रोजगार विभाग र विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलको परिचय नै बदलिएको छ ।
केही दिनअघि प्रगतिशील वैदेशिक रोजगर व्यवसायी मञ्च नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा महानिर्देशक शेषनारायण पौडेलले विभागले गरेकोे सुधार र सुशासनले व्यवसायीको लागत घटेकोले त्यसको प्रतिफल कामदारले पाउनुपर्ने बताए । महानिर्देशक पौडेलले म्यानपावर व्यवसायीले वैदेशिक रोजगारमा जाने कामदारले तिर्ने सेवा शुल्कमा देखिने गरी ‘डिस्काउन्ट’ हुनुपर्ने समेत बताए ।
ताहाचलले गत माघदेखि पुनः र यहि २ वैशाखदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत हुने श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट प्रदान गरिरहेको छ । उक्त कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत गरी दुई प्रकारका श्रम स्वीकृतिको काम पूर्णरूपमा अनलाइन माध्यमबाट प्रदान गरिरहेको छ भने केही समयपछि नै व्यक्तिगत (नयाँ श्रम स्वीकृति) पनि अनलाइन माध्यमबाट दिने तयारी गरिरहेको छ ।
प्रविधिको प्रयोग गरी श्रम स्वीकृति दिँदा भौतिकरूपमा सेवाग्राही उपस्थित नहुने भएपछि उक्त कार्यालय आजभोलि सुनसान बनेको छ । भ्रष्टाचार बढाउन विशेष भूमिका खेल्ने बिचौलियाको भागाभाग भएको छ ।
विभागले गरेकोे अनलाइन श्रम स्वीकृतिले व्यापक सुधार भएपनि वैदेशिक रोजगार व्यवसायी भने विभागले व्यवसायीप्रति गरिरहेको व्यवहारले पूर्णरूपमा खुसी हुने अवस्था नरहेको बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिका रूपमा विभागमा काम गरिरहेका संघका निवर्तमान कार्यसमिति सदस्य कर्ण कटुवाल भन्छन्, ‘ताहाचलमा सुधार हुँदा पहिलेको तुलनामा सहज भएको छ । तर विभागले सानोतिनो उजुरी र समस्या देखापर्ना साथ नै व्यवसायीको कारोवार रोक्का गर्दा पूर्णरूपमा खुसी हुने अवस्था छैन ।’
व्यवसायी कटुवालका अनुसार हाल विभागले दुई दर्जन बढी म्यानपावर कम्पनीको कारोवार रोक्का गरिएको छ । कारोवार रोक्का हुँदा ती कम्पनीले विदेशबाट ल्याएका डिमाण्डमा कामदार पठाउन पाएका छैनन् ।
म्यानपावर कम्पनी कारोवार तुरुन्तै रोक्ने तर कारोवार खोल्न लामो समयसम्म आनाकानी गर्ने गरिएको कटुवालको भनाइ छ । आफू संघको प्रतिनिधि भएर आएपछि करिब चार दर्जन व्यवसायीका समस्या समाधानको पहल गरेको भन्दै कटुवालले भने, ‘त्यसमध्ये केही म्यानपावर कम्पनीको मात्रै कारोवार रोके हुनेमा धेरैको कारोवार रोकियो । यसले व्यवसायीमा निराशा बढाएको छ ।’
कारोवार रोक्ने कुरालाई उपलब्धी मान्न नहुने विषयमा महानिर्देशक पौडेलको पटकपटक ध्यानाकर्षण गराइसकेको भन्दै कटुवालले भने, ‘कामदारको पक्षमा विभाग उभिनुपर्छ । तर बेरोजगार युवायुवतीलाई रोजगारीको व्यवस्था गर्न करोडौं लगानी गरेका व्यवसायीको मर्मलाई पनि विभागले भुल्न हुँदैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies