
क्वालालम्पुर : अमेरिकी डलरको तुलनामा मलेसियाली मुद्रा रिंगेट बलियो बनेपछि त्यसको उचाइ कहाँसम्म पुग्ला भन्ने कौतुहलता बढेको छ । गत वर्ष मलेसियाली रिंगेट अमेरिकी डलरको तुलनामा एसियाको सबैभन्दा बलियो मुद्राको हैसियतमा उक्लिएको थियो । अहिले मलेसियाको अर्थतन्त्रले राम्रो प्रदर्शन गरिरहेकाले रिंगेट थप बलियो हुने सम्भावना रहेको मलेसियाका अर्थमन्त्री अमिर हमजाह अजिजानले बताएका छन् ।
२०२५ मा रिंगेट स्थिर रहेको थियो । कतिपयले रिंगेटको मूल्यांकन कम गरिएको टिप्पणी गरेका थिए । सन् २०२६ को जनवरीमा इक्विटी र बन्ड बजारमा आएको प्रवाहले रिंगेटलाई बलियो बनाएको हो । अर्थमन्त्री अजिजानले रिंगेट आगामी महिनाहरूमा अझै बलियो बन्ने बताए । २०२६ मा सिंगापुर डलरको तुलनामा मलेसियियन रिंगेट १.७ प्रतिशतले बढेको छ ।
मलेसियाको अर्थतन्त्र अमेरिकी भन्सार शुल्कको विरुद्धमा लचिलो साबित भएको, इलेक्ट्रोनिक्स, डेटा सेन्टर र ऊर्जा संक्रमण परियोजनाहरूमा लगानी प्रवाहका कारण विश्वव्यापी व्यापार विस्तारले मलेसियाको अर्थतन्त्र स्थिर बन्दै दक्षिण–पूर्वी एसियाका अन्य देशभन्दा अगाडि बढिरहेको देखिएको छ । अर्थमन्त्री अजिजानले २०२६ मा मुद्रास्फीति बढ्ने कुनै कारण नदेखिएकाले पनि रिंगेट बलियो अवस्थामा रहने देखिएको बताए ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बताएको छ । पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत वर्ष पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
न्यूनतम तलब वृद्वि र मलेसियन मुद्रासहित अमेरिकी डलरको वृद्धिले मलेसियामा काम गर्ने नेपालीको तलब अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढीले बढ्न पुगेको छ । मलेसियन मुद्रा रिंगेट बलियो बन्दै जाँदा नेपाल आउने रेमिट्यान्स रकममा थप वृद्धि हुने आकलन गरिएको छ ।