२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बिना एजेन्ट कामदार लिने मलेसियाको तयारीले हलचल

shivam cement
२०८२ माघ २५ गते ०६:१५
Shares
बिना एजेन्ट कामदार लिने मलेसियाको तयारीले हलचल

क्वालालम्पुर : बिना एजेन्ट कम्पनीले विदेशी कामदार भर्ना गर्ने मलेसिया सरकारको तयारीमा त्यहाँका रोजगारदाताहरूमा हलचल मच्चिएको छ । यसप्रति उनीहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् ।

गत साता मलेसियाका मानव संशाधन मन्त्री सेरी आर. रामाननले विदेशी कामदार भर्नाको प्रक्रियाबाट तेस्रो पक्ष एजेन्ट वा बिचौलियाहरूलाई हटाउने प्रयासको रूपमा मलेसियाली रोजगारदाताहरूलाई प्रत्यक्ष रूपमा विदेशी कामदारहरू भर्ना गर्न अनुमति दिने प्रक्रियामा छलफल भइरहेको बताएका थिए ।

मलेसियाका साना रोजगारदाताहरूले प्रक्रिया व्यवस्थापनका लागि मद्दत गर्न बलियो डिजिटल प्रणाली, स्पष्ट, सुसंगत नियमहरू आवश्यक हुने बताएको छ । मलाय चेम्बर अफ कमर्सका अध्यक्ष नोस्र्याहरिन हमिदोनले रोजगारदाताहरूलाई प्रत्यक्ष रूपमा विदेशी कामदारहरू भर्ना गर्न अनुमति दिने सरकारको कदम स्वागतयोग्य भएपनि प्रक्रियामा सहजता सुनिश्चित गर्न उचित अनुगमन महत्वपूर्ण रहेको बताइन् ।

उनले साना रोजगारदाताहरूसँग प्रत्यक्ष भर्ना व्यवस्थापन गर्ने क्षमता, पारदर्शी र एकीकृत डिजिटल प्लेटफर्मको अभाव रहेको टिप्पणी गर्दै श्रम र अध्यागमन कानुनहरूको निरन्तर परिवर्तनले समस्या निम्त्याउन सक्ने उल्लेख गरिन् । नोस्र्याहरिनले भनिन्, ‘मानव संशाधन मन्त्रीद्वारा घोषणा गरिएको यो पहलले उच्च भर्ना लागत घटाउन र बिचौलियाहरूमाथि अत्यधिक निर्भरतालाई रोक्न मद्दत गर्न सक्छ, जसले लामो समयदेखि व्यवसायहरू, विशेषगरी सूक्ष्म, साना र मझौला उद्यमहरूलाई बोझ बनाएको छ ।’

मलेसियन एसोसिएटेड इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले विदेशी कामदारहरूका लागि प्रत्यक्ष भर्ना प्रणाली लागू गर्ने घोषणाको स्वागत गरेको छ । यसले निर्माण, नवीकरणीय ऊर्जा, खाद्य सेवा र होटलजस्ता क्षेत्रहरूमा आउने कामदारमाथि एजेन्टहरूले भर्ना प्रक्रियामा लगाउने अत्यधिक शुल्कले सिर्जना गरेको समस्या समाधान गर्नसक्ने मलेसियन एसोसिएटेड इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले बताएको छ । उसले विदेशी कामदार भर्ना गर्दा लेबी, हवाई भाडा, स्वास्थ्य परीक्षण र प्रशासनिक शुल्कहरूले धेरै कामदारहरू पहिले ऋणको बोझले मलेसिया पुग्ने चुनौतीहरू समाधान गर्न सक्ने बताएको छ । 

अधिकांश रोजगारदाताले अनावश्यक बिचौलियाहरू हटाउनाले भर्ना लागत घटाउने, ढिलाइ कम गर्ने र पारदर्शिता बढाउन मद्दत गर्ने तथा प्रत्यक्ष भर्ना संयन्त्रमा रोजगारदाता र विदेशी कामदार दुवैलाई फाइदा पुग्ने टिप्पणी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर