मध्यान्ह संवाददाता
काठमाडौ, २३ वैशाख । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले कोभिड– १९ का कारण ६ महिनाका लागि थप भएका डिमाण्ड थप ६ महिना विस्तार गर्न माग गरेकोे छ । मञ्च नेपालले शुक्रवार वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल र वैदेशिक रोजगार काठमाडाैं कार्यालय ताहाचलका कार्यालय प्रमुख रमेश अर्याल भेटेर म्याद बढाउन माग गरेको हो ।
मञ्चले यसअघि म्याद बढाइएका डिमाण्डहरुको म्याद आगामी जुन ४ तारिख सकिने, तर ती डिमाण्डका आधारमा मलेसिया जानुपर्ने ठुलो संख्यामा रहेका कामदारको प्रवेशाज्ञा (भिसा) प्राप्तिको प्रकृया नसकिएको भन्दै ती डिमाण्डमा नेपाली कामदार जान पाउने अवस्था जिवितै राखेर केडिएन र अख्तियारनामाको अवधि अरु ६ महिना म्याद थप गर्न आवश्यक देखिएको बताएको छ ।
मञ्चले कोरोना भाइरस (कोभिड–१९) को लकडाउन पूर्व अन्तिम स्वीकृति प्राप्त गरि उडान भर्न नपाएका, तर वैदेशिक रोजगारीमा मलेसिया जान ईच्छुक कामदारका हकमा कुनै शुल्क कल्याणकारी कोष, बिमा र श्रम स्वीकृति पूनः नविकरण गरि जान पाउनुपर्ने माग गरेकोे उपाध्यक्ष डिकबहादुर खत्री कुमारले जानकारी दिए । मलेसिया जान ठूलो संख्यामा मेडिकल गरेकोे र काठमाडौं आवतजावत गर्दा समेत धेरै लगानी गरेकोे कारणले उनीहरूलाई सहज हुनेगरी निर्णय गर्नुपर्ने खत्रीले बताए ।
मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गएको एक प्रतिनिधि मण्डलले बिभागका महानिर्देशक पौडेल तथा काठमाण्डौ कार्यालयका निर्देशक अर्याललाई अलगअलग भेट गरेको थियोे ।
मञ्चले अनलाइन प्रणालीबाट श्रम स्वीकृतिको सेवा सुचारु भए पश्चात पूर्व र अन्तिम स्वीकृतिका क्रममा केही त्रुटी देखिएको भन्दै त्यसमा सुधार गर्न सबै शाखाका प्रमुख सहितको उपस्थितिमा छलफल भएको भन्दै छलफल फलदायी रहेको समेत उल्लेख गरेकोे छ । वैदेशिक रोजगार कार्यालय ताहाचलमामा सिधै गुनासो टिपाउने टेवलको व्यवस्थापन लगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies