
काठमाडौं : मलेसियाका रोजगारदाताले नेपाली कामदारका लागि माग बढाएका बेला सो अनुसार नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण हुन नसकेको गुनासो बढेको छ । मलेसियाका रोजगारदाताले पछिल्ला दिनमा उत्पादन क्षेत्रको रोजगारीका लागि ठुलो संख्यामा नेपाली कामदार माग गर्न थालेका छन् ।
त्यसमध्ये धेरै माग नेपाल सरकारले तोकेअनुसार ‘फ्रि भिसा फ्रि टिकट’ अर्थात् ‘इम्प्लोइ पे मोडल’ अन्तर्गत भर्ना प्रक्रियामा कामदारको कुनै लागत नलाग्ने डिमाण्ड रहेका छन् । त्यस्ता डिमाण्डमा जान पाउने कामदारले चर्काे ब्याज र ऋणको पासोबाट राहत पाउने अपेक्षा गरिन्छ ।
मलेसिया कामदार पठाउँदै आएका म्यानपावर व्यवसायीले मागपत्र प्रमाणीकरणका लागि दूतावासले तोकेको दस्तुर रोजगारदाताका तर्फबाट दाखिला गरेर मागपत्र प्रमाणीकरण गर्न नपाउँदा दूतावासमा नेपाली कामदारका माग थुप्रिएको बताएका छन् ।
कामदारको मागपत्र प्रमाणीकरण १ देखि २५ कामदारको भए १२ सय रिंगेट, २६ देखि सय जना कामदारको १४ सय ५० तथा १०१ र सोभन्दा माथि कामदारको संख्या भए १७ सय रिंगेट शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
मागपत्र प्रमाणीकरणमा कुनै त्रुटि भए त्यसलाई सच्याउन थप ५ सय रिंगेट बुझाउनुपर्ने व्यवस्था छ । नेपालका व्यवसायीले रोजगारदाताका तर्फबाट कामदार छनोट र करारपत्रमा कम्पनीको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी पाएका हुन्छन् । रोजगारदाताका तर्फबाट कामदार छनोट तथा करार गर्न पाउने अख्तियारीले दस्तुर बुझाएर मागपत्र पनि प्रमाणीकरण गर्न पाउनुपर्नेमा दूतावासले त्यो सुविधा नदिँदा स्थानीय एजेन्ट प्रयोग गर्नुपरेको उनीहरूले टिप्पणी गरेका छन् । तर दूतावास स्रोतले मागपत्र प्रमाणीकरणका लागि दस्तुर बुझाउने दायित्व रोजगारताको नै हुने बतायो ।
यता वैदेशिक रोजगार विभागले मलेसियाबाट नेपाली कामदारको डिमाण्ड बढेपछि वैदेशिक रोजगारीमा जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिममा सहजीकरण गरिदिएको छ ।
मलेसिया जाने कामदारको संख्या दिनानुदिन बढेको भन्दै विभागले हाल मलेसिया क्लस्टरमा अभिमुखीकरण तालिम प्रदान गरिरहेका तालिम प्रदायक संस्थाहरूबाट मात्रै तालिम सञ्चालन गर्न अपुग देखिएकाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिमका मापदण्ड पूरा गरेका मान्यता प्राप्त संस्थाहरूले हाल सञ्चालन गरिरहेको क्लस्टर छाडेर नयाँ मलेसिया क्लस्टरमा अभिमुखीकरण तालिम सञ्चालन गर्न इच्छुक भए विभागमा निवेदन दिन आग्रह गरेको छ ।
विभागले मलेसियाको पाठ्य सामग्री र तोकिए बमोजिमको योग्यता भएको प्रशिक्षकको बायोडाटा, विगतमा सञ्चालन गरेका तालिम सम्बन्धमा विभागको अभिलेखमा कैफियत नदेखिएको स्वघोषणा र ३ क्लस्टर परिवर्तन गर्न चाहेको कारणसहितको निवेदन दिन आग्रह गरेको छ ।