
काठमाडौं : विभिन्न युरोपेली मुलुकमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ठगेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले क्रोएसिया पठाउने भन्दै १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै १९ लाख रुपैयाँ लिएर फरार भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ । प्रहरीले सामाजिक सञ्जाल तथा व्यक्तिगत चिनजानका आधारमा युरोपको रोजगारीमा पठाउने भन्दै ठुलो परिमाणमा रकम उठाउने र सम्पर्कविहीन हुने गरेका घटना लगातार बढेको भन्दै सचेत हुन आग्रह गरेको छ ।