
काठमाडौं : स्वास्थ्य संस्था सञ्चालक संघ (होडान)को अध्यक्षमा मदनकुमार पुर्वे सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा रामहरि थापा, महासचिवमा रघुनाथ पनेरु र कोषाध्यक्षमा पूजा चौधरी निर्वाचित भएका छन् ।
यस्तै कार्यसमितिको सदस्यमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय र राजेन्द्र चौधरी निर्वाचित भएको संघले जनाएको छ ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै सल्लाहकार शमशेर नेपालीले होडानले ६ महिनामा उल्लेख्य काम गरेको बताए । उनले राज्य र सरोकारवाला संस्थाले होडानका नीति कार्यक्रमलाई आत्मसात गरेको भन्दै त्यसले आफूलाई गौरव लागेको बताए ।
त्यस्तै शुभकामना मन्तव्य राख्दै सोमराज लिम्बूले सरकारले सबै व्यवसायीलाई समान रूपले व्यवहार गर्नुपर्ने बताए । अध्यक्ष पुर्वेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामहरि थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम रघुनाथ पनेरुले सञ्चालन गरेका थिए ।
संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय हुनुपर्ने अडान राख्दै आएको छ । संघले गत भदौ अन्तिम साता भएको जेनजी आन्दोलनमा शहादत गरेका शहीदका परिवारलाई निःशुल्क र घाइतेका परिवारका वैदेशिक रोजगारमा जाने सदस्यलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गराउँदै आएको बताएको छ ।