२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

साउदीमा करिब ६० हजार नेपाली अवैधानिक, ७४८ जना जेलमा

Nada
२०८२ फागुन १ गते ०६:१५
Shares
साउदीमा करिब ६० हजार नेपाली अवैधानिक, ७४८ जना जेलमा

रियाद, साउदी अरेबिया : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया आएका ७ सय ४८ जना नेपाली विभिन्न अभियोगमा जेलमा छन् । साउदीस्थित नेपाली दूतावासका अनुसार जेलमा रहेका अधिकांश नेपालीमाथि श्रमिक मदिरासम्बन्धी स्थानीय कानुन उल्लंघन गरेको अभियोग छ ।

ncell

नेपाली दूतावासले उपलब्ध गराएको विवरणअनुसार ३ सय ४५ जना नेपाली मदिरा उत्पादन, सेवन तथा ओसारपसारसम्बन्धी अभियोगमा थुनामा छन् । यस्तै ४३ जना लागुऔषध ओसारपसार, १२ जना चोरी, १६ जना वेश्यावृत्ति, १५ जना तोडफोड, ४ जना घुसखोरी, ७ जना हत्या तथा अन्य विभिन्न अभियोगमा २ सय ९८ जना नेपाली जेलमा रहेका छन् ।

हाल जेलमा रहेका नेपालीमध्ये ३ सय ४१ जनाले अदालतबाट सजाय पाइसकेका छन् भने ४ सय ७ जनाको मुद्दा अझै विचाराधीन रहेको दूतावासले जनाएको छ । यस्तै ७ जना नेपालीको स्वास्थ्य अत्यन्तै जोखिमयुक्त भएकाले कोमाको अवस्थामा उपचाररत छन् भने ८ जना नेपालीको शव स्वदेश पठाउने प्रक्रिया अघि बढाइएको नेपाली दूतावासले बताएको छ ।

साउदीका लागि नेपाली कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा नेपाली ठुलो संख्यामा जेल पर्नु चिन्ताजनक विषय भएको बताइन् । उनले मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गम्भीर अपराध हुने भन्दै साउदीको कानुन पालना गर्न सबै नेपाली श्रमिकलाई आग्रह गरिन् ।

दूतावासका अनुसार हालसम्म ६ हजार ५ सयभन्दा बढी नेपाली एक्जिट भिसामार्फत स्वदेश फर्किसकेका छन् । विभिन्न कारणले अलपत्र परेका २३ जना नेपाली हाल दूतावासको सेल्टरमा छन् ।

साउदी अरेबियामा करिब चार लाख नेपाली कार्यरत छन् । तीमध्ये ३ लाख २० हजारभन्दा बढी वैधानिक र बाँकी अवैध रूपमा कार्यरत रहेको बताइएको छ । पछिल्लो समय अवैध रूपमा काम गर्ने नेपालीको संख्या बढ्दै गएको दूतावासको भनाइ छ ।

साउदी अरबमा नेपाली कामदारहरू भिसाको म्याद सकिएपछि पनि बस्ने, कतिपय रोजगारदाताहरूले समयमै इकामा नवीकरण नगरिदिँदा जरिमाना बढेर तिर्न नसक्ने, रोजगारदाता छोडेर भाग्ने, कम्पनी बन्द वा टाट पल्टिएको अवस्थामा तलब नपाउने जस्ता कारणले नेपाली कामदारहरूले कानुनी हैसियत गुमाउने गरेका छन् । भिसाको म्याद सकिएपछि पनि साउदीभित्रै बसेमा त्यसलाई अवैध मानेर ठुलो रकम जरिमाना, हिरासत र डिपोर्ट गर्ने गरिएको छ ।

यसैबीच दूतावासले श्रम स्वीकृति नवीकरण सेवा साउदीबाटै अनलाइनमार्फत सुरु गरिएको जनाएको छ । हालसम्म पाँच हजारभन्दा बढी नेपालीले श्रम नवीकरण गरिसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर