– जयप्रकाश गुप्ता
नेपाली सम्भ्रान्त तथा बहुसंख्यक बुद्धिजीविहरूको चरित्र आधारभूत रूपमा पाखण्डी वा साखुल्ले प्रकारको रहेको देखिन्छ । यस समुदायको कुनै पनि घटना वा परिस्थितिका बारेमा समान प्रकारका दृष्टिकोण वा समझ भएको देखिँदैन । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी हुदाँ त्यस्ता बुद्धिजिविहरुको नजरमा घोर दक्षिणपन्थी हुन्छन् तर, जब ट्रम्पले “अमेरिका अम्रिकीको मात्र हो” भन्न थाले तब ट्रम्प यस वर्गका प्रीय भए । त्यसबेला यस वर्गले नेपालमा राजा महेन्द्रले गाढेको ‘नेपाली मात्रको’ शब्दसँग ‘अमेरिका अम्रिकीको मात्र’मा समदृश्यता देख्दछ ।
श्रीलंकामा प्रधानमन्त्री महेन्द्रा राजपाक्षेको पतन पछि नेपाली सम्भ्रान्तहरूको टिप्पणीहरू पढ्दा यस्तै लागेको छ । यहाँ अचानक राजपाक्षे शासनको पतनमा खुशीयाली देखिएको छ । विशेषतः यस्ता खुशीयाली प्रकट गर्नेहरूमा नेपालमा एकात्मवादी खस राज्य प्रणालीको सदैव सिदृढीकरण चाहने वर्ग देखिन्छ । नेपालका यी राजपाक्षे सहगोत्रीहरू केही वर्ष अघि राजपाक्षे विचारका उद्भट प्रशंसक थिए ।
केही वर्ष अघि मात्रै बौद्धहरूको भावनात्मक सहयोगमा राजपाक्षेले श्रीलंकामा तामिलहरूको संहार गरेका थिए । ठूलो सैनिक परिचालन गरेर तामिल इलमको मागलाई ध्वस्त पारिदिएका थिए । सोही समय नेपालमा पनि मधेसी र थोरै आदिवासी–जनजातिहरूको अधिकारवादी आन्दोलन उठेको थियो । अतिवादी नेपालीहरू महेन्द्रा राजपाक्षेका झैँ मधेसीहरूलाई तामिलहरूका झँै सोत्तर पार्नुपर्छ भन्ने चाहना राखेका थिए । त्यस्ता प्रवृत्तिका समूहले सत्ता बस्नेलाई उक्साईरहेका थिए । उपेन्द्र यादवले नेपाली टोपी नलाउने गरेको बेला त्यस्तो अभियान चलेको थियो । मातृका यादवले पनि काठमाडौंका भित्ताहरूमा “गर्वका साथ बोलौ, धरतीपुत्र हौँ हामी भगौडा होइनौ” भनी लेखेको बेला थियो । यस बेला नेपालका बहुसंख्यक खस–आर्य सत्ताका पक्षपातीहरूका नजरमा राजपाक्षे हिरो भए । यसरी नेपालका एकात्मराज्यवादीहरूका वर्गले राजपाक्षेको प्रशंसा गरे ।
संयुक्त राष्ट्र संघका मानव अधिकार आयोगले र स्वतन्त्र विश्व जनमतले भने महेन्द्रा राजपाक्षेबाट श्रीलंकामा मानवीयता विरूद्धको अपराध भएको मूल्यांकन गरेको थियो । मानव अधिकारको गम्भीर उल्लंघनको जेनेभामा भएको मतदानमा नेपालले श्रीलंकाको पक्षमा प्रस्तावको विरूद्धमा भोट हाल्यो । भारतले पनि राजपाक्षे सत्ताकै पक्षमा मतदान गरेको थियो । यद्यपि, नेपालले राजपाक्षे सत्ताको पक्षमा गरेको मतदानको एउटा मजेदार पक्ष छ । तामिलहरूको नरसंहार गरिएको विषयलाई मानवीयता विरूद्धको अपराध भनी भएको मतदानमा नेपालबाट मधेसका मसीहा कहलिएका उपेन्द्र यादव स्वयम् परराष्ट्र मन्त्रीको रूपमा सगभागी थिए । र, नेपालमा प्रम थिए प्रचण्ड । जो मुलुकमा जातीय मुक्तिका सवाललाई जनयुद्धसँग जोडेका थिए । यी दुई जनाको निर्णयले नेपाल विश्वमञ्चमा जातीय वा क्षेत्रीय मुक्तिका लागि गरिएको संघर्षका पीडित पक्ष तामिलहरूको विपक्षमा उभियो ।
नेपालका एकात्मवादी राज्य व्यवस्थाका पृष्ठपोषण गर्ने समाज वा वर्गले कहिल्यै राजपाक्षेको ठिक मूल्यांकन गरेन । नेपालका यही वर्ग र समुदायले अहिले राजपाक्षेलाई सत्ता दुरूपयोग गरिदाँ हुने परिणामको उदाहरण बनाएको छ । वास्तवमा यो नै पाखण्डी स्वभाव वा चरित्र हो । यहाँ वास्तविकतालाई लुकाउने प्रयास गरिएको छ । अर्कोतर्फ मानिसहरुलाई भ्रमित पनि पारिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies