२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

युएईमा नेपालीहरूको स्वास्थ्य समस्या बढ्दो

shivam cement
२०८२ फागुन ३ गते ०६:१०
Shares
युएईमा नेपालीहरूको स्वास्थ्य समस्या बढ्दो

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपाली कामदारमा मानसिक स्वास्थ्य समस्या बढेको देखिएको छ । युएईस्थित नेपाली दूतावासले शुक्रबार आयोजना गरेको युएईका आबुधावीलगायत अन्य इमिरेट्सका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरूसँगको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरूले उक्त जानकारी दिएका हुन् ।

युएईमा कार्यरत नेपाली श्रमिकहरूले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका बारेमा विस्तृत र सघन रूपमा छलफल भएको कार्यक्रममा युएईमा लामो समयदेखि चिकित्सक पेसामा आबद्ध करिब २५ जना नेपाली चिकित्सकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी चिकित्सकहरूले स्वास्थ्य जाँच गर्ने क्रममा नेपाली श्रमिकहरूमा शारीरिक तथा मानसिक दुवै किसिमका समस्याहरू देखापर्ने गरेको र मानसिक स्वास्थ्य समस्या बढी मात्रामा रहेको बताए । मानसिक समस्याले उच्च रक्तचाप, हृदयघातको समस्या, मिर्गौलाको समस्या, मानसिक तनाव एवं डिप्रेसन, कार्यस्थल तथा ट्राफिक दुर्घटना तथा महिलाहरूसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरू देखिएको भन्दै चिकित्सकहरूले मानसिक समस्यालाई न्यूनीकरण गर्न विभिन्न उपाय अपनाउन सुझाव राखेका थिए ।

चिकित्सकहरूले स्वास्थ्यसम्बन्धी चेतनाको कमी, स्वास्थ्यलाई लापरबाहीपूर्ण ढंगले लिने, रोग लुकाउने प्रवृत्ति, खाडी राष्ट्रमा कार्यरत वातावरणीय असरबारे पर्याप्त जानकारी नहुने, आफ्नो स्वास्थ्य बिमाको बारेमा अनभिज्ञता र भाषाको समस्याका कारण पनि धेरैजसो नेपाली श्रमिक स्वास्थ्य जाँच गराउन समयमै अस्पताल नजाने गरेको चिकित्सकहरूले बताए ।

कम्तीमा पनि ६ महिनामा एक पटक स्वास्थ्य जाँच गराउन, पर्याप्त मात्रामा शुद्ध पानी पिउन, अत्यधिक मदिरा सेवन नगर्न वा नियन्त्रण गर्न, आफ्नो स्वास्थ्य बिमाका बारेमा जानकारी लिई जाँच गराउन पनि चिकित्सकहरूले सुझाव दिएका छन् । 

नेपाली डाक्टरहरूले युएईमा रहेका नेपालीहरूको स्वास्थ्य समस्या बढी रहेकाले उनीहरूको उपचारमा हरसम्भव सहयोग गरिरहेको र आगामी दिनमा पनि सम्भव भएका सबै सहयोग गर्न सधैं तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिन अति आवश्यक भएको सुझाव दिएका छन् । 

मानसिक रोगबाट पीडितको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी नेपालबाट सकेसम्म छिटो टेलिमेडिसिन सेवा प्रदान गर्न र युएई जाने श्रमिकहरूलाई नेपालमा नै स्तरीय अस्पतालमा गुणस्तरीय स्वास्थ्य जाँचको व्यवस्था गरी पूर्वप्रस्थान तालिममा स्वास्थ्य, बिमा र युएईको हावापानी, सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विस्तृत चेतनामूलक प्रशिक्षण दिनुपर्ने पनि नेपाली चिकित्सकहरूले दिएको नेपाली दूतावासले बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले चिकित्सकहरूबाट प्राप्त अमूल्य सुझावहरूलाई कार्यान्वयन गर्न दूतावास तत्पर रहेको र आगामी दिनमा दूतावाससँगको समन्वयमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्ने बताए ।

उनले युएईमा रहेका नेपाली चिकित्सकहरूले आफ्नो क्षेत्रबाट चिकित्सा तथा युएईमा कार्यरत नेपालीसमुदायलाई पु¥याएको योगदानको प्रसंशा गर्दै इमिरेट्सहरूमा रहेका नेपाली चिकित्सकहरूको सक्रिय सहयोग र हातेमालोका लागि समेत अनुरोध गरे । युएईमा करिब ४ लाख ५० हजार नेपालीहरू कार्यरत रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर