
काठमाडौं : युएईको मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्रालयले इजाजतपत्र बिना घरेलु कामदार भर्नासम्बन्धी अवैधानिक प्रचार गर्ने २ सयभन्दा बढी सामाजिक सञ्जाल बन्द गरेको छ ।
युएईमा नक्कली घरेलु कामदार भर्नासम्बन्धी प्रचारका कारण महिलाले १० हजार दिराम गुमाएको समाचार सार्वजनिक भएपछि मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्रालय अवैधानिक सामाजिक सञ्जाल बन्द गर्न अग्रसर भएको हो । युएईले स्थानीय नम्बरमा सम्पर्क गरेर भ्रामक विज्ञापनहरूबारे रिपोर्ट गर्न आग्रह गरेको छ ।
घरेलु कामदारहरूलाई काममा लगाउन गलत जानकारी वा नक्कली कागजातहरू प्रदान गर्नेलाई २० हजार देखि १ लाख दिराम जरिवाना र ६ महिनासम्मको जेल सजाय तथा इजाजतपत्र नभएका कामदारहरूलाई काममा राख्ने, कर्मचारी भर्ना गर्ने, तर जागिर नदिने वा अन्य उद्देश्यका लागि घरेलु कामदार अनुमतिपत्र प्रयोग गर्ने व्यक्तिहरूलाई न्यूनतम ५० हजारदेखि २ लाख दिराम जरिवाना गर्ने व्यवस्था छ ।