२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनावी एजेन्डाको प्राथमिकतामा वैदेशिक रोजगार

shivam cement
२०८२ फागुन ४ गते ०६:१०
Shares
चुनावी एजेन्डाको प्राथमिकतामा वैदेशिक रोजगार

काठमाडौं : फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले वैदेशिक रोजगारलाई मुख्य एजेन्डामा राखेका छन् । वैदेशिक रोजगारमा आश्रित रहेका परिवारको मत ठुलो रहेका कारण राजनीतिक दलहरूले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेदेखि कतिपयले वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करार भन्दै सार्वजनिक गरेको पत्रमा विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण बनाउने र मर्यादित वैदेशिक रोजगारीको सुनिश्चित गरिने बताएको छ । रास्वपाले प्रतिबद्धता पत्रको पूर्णपाठ फराकिलो रूपमा आउने बताएको छ । परम्परागत दल भनिने नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि फ्रि भिसा र टिकटको व्यवस्था गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता अघि सारेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूको रोजगारीलाई प्रत्याभूति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

जसपा नेपालले आन्तरिक रोजगारीको प्रत्याभूति नहुँदासम्म वैदेशिक रोजगारीमा जाने नागरिकको सीप विकास, प्रशिक्षण तथा यात्रा खर्च रोजगारदाताबाट ग्यारेन्टी गरिनुपर्नेमा जोड दिएको छ । त्यसैगरी विदेशबाट प्राप्त रेमिट्यान्स रकम औपचारिक बैंकिङ प्रणालीमार्फत भित्र्याइनुपर्ने भन्दै कामदारको कमाइ उनीहरूको विकास र संरक्षणमा खर्च गरिनुपर्ने बताएको छ ।

घोषणापत्रमा वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको सीपअनुसार स्वदेशमै रोजगारीको व्यवस्था गरिने नीति पनि समेटिएको छ । जसपा नेपालको दृष्टिमा वैदेशिक रोजगारी ‘रहर’ नभई ‘बाध्यता’ हो । 

उज्यालो नेपाल पार्टीले आगामी पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमाथिको बढ्दो निर्भरता कम गर्ने प्रतिबद्धता जनाएको छ । उज्यालो नेपाल पार्टीले आइतबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आइटी, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, हाइड्रो, कृषि र पर्यटन क्षेत्रबाट वार्षिक ९ लाख रोजगारी सिर्जना गरी पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले श्रम तथा रोजगारी नीति आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा रहने भन्दै श्रमिकको मर्यादा, हकहित तथा सामाजिक सुरक्षा सुनिश्चित गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीलाई मर्यादित बनाइने, सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी भन्ने कार्यान्वयन गरिने उक्त पार्टीको भनाइ छ ।

उक्त पार्टीले वैदेशिक रोजगारीमा दक्ष तथा अर्धदक्ष जनशक्ति मात्र पठाउने व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा जानेहरूको बिचौलिया शोषण पूर्णरूपमा अन्त्य गर्न गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने, न्यूनतम तलब–सुविधा तथा अधिकार सुनिश्चित गरिने उल्लेख गरेको छ ।

रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत मात्र भित्र्याउने भन्दै उक्त पार्टीले गैर–बैंकिङ च्यानल नियन्त्रण गरी रेमिट्यान्सलाई उत्पादनमूलक लगानीमा उपयोग गर्ने उपकरण विकास गर्दै हाल बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्न नीतिगत सुधार गरिने बताएको छ ।

वैदेशिक रोजगारीबाट सिकेको ज्ञान, सीप, प्रविधि तथा उद्यमशीलतालाई कृषिलगायत अन्य क्षेत्रमा स्वदेशमा प्रभावकारी प्रयोग गर्न ‘रिटर्नी लक्षित विशेष कार्यक्रम’ सञ्चालन गरी उद्यमशीलता, मनोसामाजिक तालिम, व्यावसायिक कर्जा, प्राविधिक सेवामा संलग्न गराइने भन्दै नेपाली कम्युनिष्ट पार्टीले वैदेशिक रोजगारीमा अलपत्र परेमा वा बिरामी भएमा उद्धार, उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न दूतावासमा श्रम सहचारी नियुक्ति तथा स्रोत वृद्धि गरिने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर