
काठमाडौं : मुलुक निर्वाचनको माहोलमा रहे पनि आफ्नो र परिवारको जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या घटेको छैन । माघ महिनामा वैदेशिक रोजगारीमा जान ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
माघमा वैदेशिक रोजगार विभागबाट पुनः श्रम स्वीकृति सहित ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएका हुन् । त्यसमध्ये नयाँ ३७ हजार ८ सय १२ जनाको श्रम स्वीकृति भएको छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् ।
माघ महिनामा म्यानपावर कम्पनीबाट २६ हजार ८०७ जनाको नयाँ श्रम स्वीकृति भएको छ । करिब ११ हजार जना व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा गएका छन् ।
अघिल्ला महिनामा जस्तै माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन् । युएईका लागि १५ हजार १ सय ३७ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ६ हजार ५ सय ३ जना पठाएका छन् ।
साउदीका लागि ११ हजार ५ सय ९२ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ५ हजार ४ सय ४६ जना, कतारका लागि ११ हजार ५ सय ८० को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ३ हजार ६ सय ३२ जना, मलेसियाका लागि १० हजार ३ सय ४१ को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ४ हजार ८ सय ४३ जना कामदार पठाएका छन् ।
कुवेतका लागि ५ हजार ४ सय ४३ को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीमार्फत ३ हजार ५ सय ९८ जनाले श्रम स्वीकृति लिएका थिए । माघमा ओमान ८ सय १६ जना, बहराइन ६ सय ७० जना, साइप्रस ५ सय २२ जना, मरिसस २ सय ७० जना, जोर्डन २ सय ६७ जना, जापान २ सय ३ जना, माल्दिभ्स १३ र मकाउ ४ जना म्यानपावर कम्पनीमार्फत गएका छन् ।
म्यानपावर कम्पनीले एक जना पनि पठाउन नसकेको रोमानियाका लागि ३ हजार ९ सय ४० जनाको श्रम स्वीकृति भएको छ । विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले नेपाली कामदारका लागि डिमाण्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । माघ महिनामा एक सय ७ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीले ११ देशमा मात्रै कामदार पठाउन सकेका छन् ।