
काठमाडौं : फोडेज नेपाल प्रा.लि.ले जापानी श्रम बजारका प्रमुख तीन क्षेत्रका लागि उच्चस्तरको जनशक्ति तालिम सञ्चालनको औपचारिक सुरुवात गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ तथा जापानी लगानीकर्ताहरूले बुधबार फोडेज तालिम केन्द्रको संयुक्तरूपमा रिवन काटेर उद्घाटन गरे ।
हाल जापानमा नर्सिङ हेरचाह, भवन सफाइ व्यवस्थापन, मेसिन पाट्र्स र टुलिङ, औद्योगिक मेसिनरी, इलेक्ट्रिक÷इलेक्ट्रोनिक÷सूचना, निर्माण, जहाज निर्माण/जहाज मेसिनरी, अटोमोबाइल मर्मतसम्भार, उड्डयन, आवास, कृषि, मत्स्यपालन, खाद्य÷पेय पदार्थ उत्पादन, खाद्य सेवा, वन र काठ उद्योगमा विदेशी कामदारको अभाव छ ।

त्यसमध्ये फोडेज नेपालले खानपान सेवा, फाइन डाइनिङ र ज्येष्ठ नागरिकको स्याहार सुसार गरी प्रमुख तीन क्षेत्र लक्षित उच्चस्तरीय सीप तथा भाषा तालिम प्रारम्भ गरेको छ ।
फोडेज नेपाल प्रा.लि., ब्लु स्काइ इन्टरनेसनल प्रा.लि., रिलो भ्याकेसन कम्पनी लिमिटेड जापान र सेवोकाइ सोसियल वेयलफेर कर्पोरेशन जापानको संयुक्त लगानीमा तालिम सञ्चालन सुरुवात गरिएको हो । ट्रेनिङ सेन्टर ब्लु स्काइ इन्टरनेसनल प्रा.लि.का सञ्चालक प्रेमबहादुर कटुवाल र फोडेज नेपालका आओकी हिरोनाबुले सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।

सञ्चालकहरूले उक्त तालिम केन्द्र जापानी जनशक्ति, उपकरण र जापानी मौलिकतामा सञ्चालन भएको नेपालको पहिलो ट्रेनिङ सेन्टर भएको बताएका छन् ।
कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएको फोडेज नेपालले जापानमा काम गर्न जान चाहनेहरूलाई नेपालमै सीपयुक्त, क्षमतायुक्त तालिम दिएर दक्ष र सक्षम बनाई रोजगारमा पठाउने उद्देश्य लिएको बताएको छ । आवश्यकता र प्रभावकारिताका आधारमा आगामी दिनमा कम्पनीले नेपालका अन्य स्थानमा पनि आफ्नो सेवा विस्तार गर्नसक्ने उद्देश्य राखेको छ ।

कम्पनीले टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम र निर्दिष्ट सीपयुक्त कामदार कार्यक्रम (एसएसडब्लु) अन्तर्गतका तालिम प्रदान गर्ने बताएको छ । जापानमा खानपान सेवा, फाइन डाइनिङ र ज्येष्ठ नागरिकको स्याहार सुसारमा काम गर्न जान इच्छुक नेपालीहरूलाई प्रशिक्षण प्रदान गरी उनीहरूलाई सम्बन्धित विधामा सक्षम बनाई कार्यस्थलमा नेपाली श्रमिकहरूले भोग्नुपरेका कठिनाइहरूलाई न्यूनीकरण गर्नु कम्पनीको उद्देश्य रहेको ब्लु स्काइ इन्टरनेसनल प्रा.लि.का अध्यक्ष प्रेमबहादुर कटुवालले बताए ।
फोडेजले हाल सञ्चालन गरेको यो तालिम फिल्ड बेस तालिम हो । जापानमा काम गर्न जान इच्छुक नेपालीहरूले जापानी भाषाको ज्ञान प्राप्त गरी जापानमा रोजगारी उपलब्ध गराउने कम्पनीबाट लिइने अन्तर्वार्तामा उत्तीर्ण भइसकेका र जापानको अध्यागमनबाट सर्टिफिकेट अफ इलिजिबिलिटी (सिओई)समेत प्राप्त गरिसकेका विद्यार्थीहरूलाई खानपान सेवा, फाइन डाइनिङ र ज्येष्ठ नागरिकको स्याहार सुसारका लागि १३० घण्टाको तालिम दिने छ ।

उल्लेखित तीन क्षेत्रका कामका लागि वार्षिक प्रत्येकका लागि ३–३ सयका दरले ९ सय जनालाई तालिम दिने लक्ष्य रहेको पनि अध्यक्ष कटुवालले जानकारी दिए । तालिम प्राप्त नेपाली जनशक्तिले राम्रो आम्दानी गर्ने भएकाले तालिम लाभदायक रहेको उनले दावी गरे।
व्यवसायी कटुवालका अनुसार करिब २ दशकसम्म खाडी र मलेसियामा नेपाली कामदार पठाएको अनुभवबाट जापानी श्रम बजारमा दक्ष नेपाली जनशक्ति पठाउन सकिन्छ भन्ने आत्मविश्वास जागृत भएपछि पूर्णरूपमा जापानी मौलिकतामा तालिम केन्द्र सञ्चालन गरिएको हो ।

सामान्यतया नर्सिङ केयर, फाइन डाइनिङ र खानपान सेवाको क्षेत्रमा काम गर्न जाने नेपालीहरू जापान पुगेपछि पुनः तालिम लिनुपर्ने हुँदा उनीहरूले सिधै काम सुरु गर्न पाउँदैनन् । कामको प्रकृति, तरिका, भाषा, रहनसहन, विदेशी कामदारहरूले पालना गर्नुपर्ने नीति नियम आदिका बारेमा नेपालमै जानकार भई जान पाउनु कामदारहरूका निम्ति एउटा सुनौलो अवसर पनि भएको उनले बताए ।
जापानबाटै आएका जापानी शिक्षक, प्रशिक्षकहरूबाट पढाइने, सिकाइने हुँदा यो तालिम थप प्रभावकारी हुने विश्वास लिइएको कम्पनीले बताएको छ ।

जापानका भाषा स्कुलहरूमा अध्ययनका निम्ति स्टुडेन्ट भिसामा गइरहेका नेपाली विद्यार्थीहरूले सामान्यतः ‘एन फोर’ तहको जापानी भाषा कक्षा पास गरेर जाने गरेको देखिन्छ । त्यसरी जाने विद्यार्थीहरूले ठुलो धनराशि लगानी गरेर जानु परेको छ । त्यसका अलावा रोजगारीका निम्ति आवश्यक पर्ने व्यवहारिक ज्ञान, सीप, दक्षता, व्यवहारिकता जस्ता आधारभूत कुराहरूको अभावमा नेपालीहरूले दिनप्रति दिन अनेकौं समस्याको सामना गरिरहनुपरेको छ । यसले गर्दा नेपालीहरूले आत्महत्या गर्ने क्रम बढेको छ ।
जापान जाने विद्यार्थीहरू अध्ययनभन्दा पनि रोजगारीकै निम्ति जाने देखिएको छ । रोजगारीका लागि भाषा, सीप, क्षमता, दक्षता हासिल गरेर जाँदा काम गर्न सहज हुने कम्पनीको भनाइ छ । भाषा तथा तालिमका लागि तिर्नुपर्ने शुल्क पनि निकै सस्तो पर्ने हुँदा त्यसमा इच्छुक विद्यार्थीहरूको चाहनालाई बढी मात्रामा ध्यान दिइएको पनि कम्पनीले बताएको छ ।

जापानी भाषा परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरी सिओई प्राप्त गरेका विद्यार्थीहरूलाई तालिमका लागि लाग्ने खर्च जुन कम्पनीमा काम गर्नका लागि छनोट भएको हो सोही कम्पनीले व्यहोर्ने बताइएको छ । फोडेज कम्पनी जापानमा २७ वर्षदेखि खाद्य तथा हेल्थ सेक्टरमा काम गरिरहेको पुरानो संस्थाका रूपमा परिचित छ ।
