
कुवेत : कुवेत धेरै नेपालीका लागि रोजगारी र आम्दानीको आशा बोकेको देश हो । गाउँघरमा अभाव देखेर, ऋण लागेर वा परिवारको भविष्य सोचेर यहाँ आउनेहरूको संख्या बर्सेनि बढ्दो छ । सन् २०२५ मा कुवेतमा करिब १ लाख ७५ हजार नेपाली बसोबास गरिरहेका छन् । तीमध्ये ठुलो हिस्सा घरेलु कामदारको छ । नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि कुवेत आउने क्रम रोकिएको छैन । सुरक्षित बाटो नअपनाइ आउनेहरू यहाँ आइपुगेपछि कानुनी झन्झट र शोषणको जोखिममा परिरहेका छन् ।
यहाँ नेपालीहरू कन्स्ट्रक्सन, सरसफाइ, होटल, ग्रोसरी, सेक्युरिटी, पार्लर र ड्राइभरजस्ता काममा खटिरहेका छन् । बिहानैदेखि बेलुकीसम्म पसिना बगाएर कमाएको पैसाले घरपरिवार चलेको छ । ७५ केडी जति तलब भए पनि नेपालमा परिवार पाल्न सकिन्छ भन्ने सोचले धेरैले दुःख सहिरहेका छन् । तर कामको घण्टा लामो हुन्छ, आराम कम पाइन्छ, कहिलेकाहीँ सम्झौताअनुसारको तलब पनि समयमा आउँदैन । चुप लागेर सहनु बाहेक अरू विकल्प नभएको अनुभूति धेरैको छ ।
नेपालमै ‘फ्रि भिसा, फ्रि टिकट’ भनेर लोभ देखाइन्छ । ‘१० हजार सेवा शुल्क मात्रै’ भन्ने कुरा सुन्दा धेरैलाई सजिलो लाग्छ । तर कुवेत आइपुग्दा धेरैको खर्च ३ लाख रुपैयाँ नाघिसकेको हुन्छ । कसैले टिकट आफैं काटेको हुन्छ, कसैले भिसा र कागज मिलाउने नाममा दलाललाई थप पैसा बुझाएको हुन्छ । यहाँ आएपछि भनेजस्तो काम नपाउने, तलब कम हुने वा महिनौँ कुर्नुपर्ने अवस्था आउँछ । ऋण बोकेर आएका नेपालीका लागि यो झन् पीडादायी हुन्छ ।
घरेलु कामदारका रूपमा आएका नेपाली महिलाहरूको अवस्था झन् गाह्रो छ । भाषा नबुझ्ने, घरबाहिर निस्कन नपाइने, कामको समय निश्चित नहुने, कहिलेकाहीँ अपमान र दुव्र्यवहार सहनुपर्ने अवस्था पनि देखिन्छ । समस्या परे भागेर निस्कन खोज्दा कानुनी झन्झटमा पर्ने डर हुन्छ । उद्धारको बहानामा भगाएर केही समयसँगै राख्ने, फेरि काममा लगाउने र अन्त्यमा दूतावास पुर्याउने गलत गतिविधिले पीडितको अवस्था सुध्रिनु भन्दा बिग्रिने गरेको छ ।
सन् २०२५ मा कुवेतमा ९५ जना नेपालीले ज्यान गुमाएका छन् । कसैको हृदयाघातका कारण मृत्यु भयो, कसैको प्राकृतिक मृत्यु भयो, कसैको मदिरा विषाक्तताले ज्यान गयो भने कसैले आत्महत्याको बाटो रोजे । दिनभरि काम, राति एक्लोपन, परिवारको चिन्ता र आर्थिक दबाबले मन थाकेको हुन्छ । यही थकानले कतिपयलाई मदिरा र लागूऔषधतिर धकेलेको देखिन्छ, जसको अन्त्य दुःखद हुने गरेको छ ।
कुवेतको कानुन कडा छ । सानो गल्तीले पनि ठूलो सजाय भोग्नुपर्ने अवस्था आउँछ । भिसा सकिएपछि बस्नु, गैरकानुनी काम गर्नु, झगडामा पर्नु वा लागूऔषधसँग जोडिनु जेलसम्म पुग्ने कारण बन्न सक्छ । डिसेम्बर २०२५ सम्म कुवेतका जेलमा ५९ जना नेपाली थुनामा छन् । यो संख्या आफैंमा चेतावनी हो । यहाँ नियम नबुझेर बस्नु भनेको आफैंलाई जोखिममा हाल्नु हो ।
यी सबै घटनाले एउटा कुरा स्पष्ट देखाउँछ– कुवेतमा बस्ने नेपालीका लागि सचेत रहनु आजको सबैभन्दा ठुलो आवश्यकता हो । लागूऔषध र मदिराबाट टाढा बस्नु, काम सुरु गर्नु अघि श्रम सम्झौता राम्ररी पढ्नु, आफ्नो भिसा र कानुनी अवस्था समयमै मिलाइराख्नु जीवन जोगाउने उपाय हुन् । समस्या पर्दा लुकाएर बस्नु भन्दा विश्वासिला साथीभाइ वा संघ–संस्थासँग सल्लाह लिनु धेरै राम्रो हुन्छ । गम्भीर समस्या आएमा ढिला नगरी कुवेतस्थित नेपाली राजदूतावास र भरोसायोग्य नेपाली संघ–संस्थासँग सम्पर्क गर्नुपर्छ । सही ठाउँमा समयमै पुगेको उजुरीले धेरैको अवस्था सुध्रिएको उदाहरण पनि छन् ।
कुवेतले धेरै नेपालीलाई अवसर दिएको छ । यहीँ पसिना बगाएर घर बनाएका, छोराछोरी पढाएका र भविष्य सुरक्षित बनाएका कथा पनि छन् । तर अवसर आफैं सुरक्षित हुँदैन । सचेतना, अनुशासन र आपसी सहयोग बिना यहाँको जीवन सजिलो छैन । कुवेत कमाउन मात्रै होइन, जोगिएर बस्न पनि सिक्नुपर्ने ठाउँ हो ।