२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सरकार कटिबद्ध : प्रधानमन्त्री

shivam cement
२०८२ फागुन १९ गते ०६:१५
Shares
मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले ठुलो संख्यामा नेपाली कार्यरत मध्यपूर्वमा विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सोमबार सम्बोधन गर्दै सरकार हरदम त्यस क्षेत्रमा रहेका नेपालीहरूको साथमा रहेकोे र नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा सरकार कटिबद्ध रहेकोे उल्लेख गरेकी छन् । 

परराष्ट्र मन्त्रालयले मध्यपूर्वी क्षेत्रमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक वैदेशिक रोजगार तथा विभिन्न पेशा व्यवसायमा रहेको बताएको छ । वैदेशिक रोजगार विभागले साउदी अरेबिया, युएई, कुवेत, कतार, बाहराइन, ओमान, इराक, यमन, लेबनान, टर्की, जोर्डन र इजरायलसमेतका देशहरूमा वैदेशिक रोजगारीका निम्ति दिइने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगित गरेको छ ।

युएईमा इरानको आक्रमणबाट आइतबार गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको थियो । अबुधाबीस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत २९ वर्षीय दिवस श्रेष्ठ गोरखाका स्थायी बासिन्दा हुन् । अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको बताइएको छ ।

हाल अन्य नेपाली असुरक्षाको कारणले स्वदेश फर्किन पाए हुन्थ्यो भन्ने अवस्था नरहेको बताएका छन् । युएईमा त्रासका बीच यातायात चलेको, सुपरमार्केट खुला रहेकोे, केही क्षेत्र घरबाट काम गर्न भनिए पनि नियमित काममा आउने–जाने गरिरहेको बताइएको छ ।

युएईले इरानी प्रहारको प्रतिरक्षा गरिरहेकोे र आफ्नो मुलुकमा रहेका कामदारसहित अन्य विदेशीलाई पूर्णरूपमा सुरक्षा दिने बताएको छ । कतिपयले भने सरकारले दिएको सुरक्षाको आश्वासनपछि पनि डर र त्रास रहेकोे बताएका छन् । 

आबुधाबीस्थित नेपाली दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रञ्जिता दाहालले त्यहाँ रहेका नेपालीहरूबाट विभिन्न जिज्ञासा राख्दै तारन्तार फोन गर्ने गरेको बताएकी छन् । तर  समस्यामा परेर कसैले सोमबार साँझसम्म दूतावासको सहयोग मागेका छैनन् ।

भर्खरै कामका लागि पुगेका नेपालीहरू बढी चिन्तित छन् । उनीहरूलाई पकेट मनीको समेत अभाव रहेकोे बताइएको छ । अधिकांशले लडाइँ कति लामो होला भन्ने चिन्ता व्यक्त गरेका छन् । यता गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतले मध्यपूर्वका विभिन्न देशबाट नेपालीहरूको चिन्ता र सरोकार आइरहेको बताएका छन् । कतार एयरवेजका सबै उडानहरू रद्द गरिएको छ । कतारी हवाई क्षेत्र बन्द भएकाले एयरलाइन्सले आफ्ना सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।

कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालन गर्न सकिने घोषणा गरेपछि मात्र उडान सेवा पुनः सुरु गरिने कम्पनीले स्पष्ट पारेको छ । इरानमाथि आक्रमणसँगै आफ्नोतर्फबाट सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको कतार एयरवेजले  मंगलबार बिहान ९ बजे नयाँ निर्णय सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित खबर