
काठमाडौं : पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । एक निर्वाचन क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसका उम्मेदवार रहेका गुरुङ २ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले ९ मत पाए । ७ हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको मनाङमा ४५ मत बदर भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा पू्र्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल काठमाडौं क्षेत्र नं ९ बाट विजयतर्फ उन्मुख देखिएका छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाभन्दा धेरै मतान्तरले अगाडि छन् । अर्यालले पहिलोपटक प्रत्यक्षतर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । यसअघि उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए ।
यस्तै यो समाचार तयार पार्दासम्म गुल्मी क्षेत्र नं. २ मा एमाले उम्मेदवार बनेका पूर्वश्रममन्त्री गोकर्ण विष्ट दोस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार पूर्व प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले विष्टभन्दा थोरै मतान्तरले अग्रता लिएका छन् । अर्का पूर्व श्रममन्त्रीकिसनकुमार श्रेष्ठ बारा क्षेत्र नं. ४ मा एमाले उमेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारीभन्दा धेरै मतान्तरले पछाडि परेका श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । बारा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर रास्वपा उम्मेदवार अरविन्द साहलाई पछ्याउँदै छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद साँवा लिम्बू झापाको निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवार छन् । नेकपा एमाले उम्मेदवार साँवा दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार शम्भुप्रसाद ढकाल साँवाभन्दा फराकिलो मतान्तरले अगाडि छन् । लिम्बू दुई पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् ।
इलाम क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका रनबहादुर राई चौथो स्थानमा छन् । कास्की क्षेत्र नं. १ मा नेपाली कांग्रेसको उम्मेदवार बनेका संघका अर्का पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट तेस्रो स्थानमा छन् । उक्त क्षेत्रमा रास्वपाका खड्कराज पौडेल ठुलो मतान्तरले पहिलो र नेकपा एमालेका बैनबहादुर क्षेत्री अधिकारी दोस्रो स्थानमा छन् ।
दाङको क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष किरण किशोर घिमिरे पनि तेस्रो अग्रतामा छन् । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तरले अग्रता लिएको उक्त क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहेका छन् । रानाभाट र घिमिरे पहिलो पटक निर्वाचनमा होमिएका हुन् ।