
काठमाडौं : पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा वैदेशिक रोजगार क्षेत्रसँग जोडिएका उम्मेदवारका लागि यसपटकको निर्वाचन परिणाम फलदायी रहेन । पूर्वश्रममन्त्री डोलप्रसाद अर्याल र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने अन्यले हारको सामना गर्नुपर्यो । रास्वपाका उपसभापति पूर्वमन्त्री अर्याल काठमाडौं– ९ बाट निर्वाचित भए भने पूर्वराज्यमन्त्री गुरुङ मनाङबाट विजयी भएका हुन् ।
१८ पटकभन्दा बढी मन्त्री भइसकेका पूर्वश्रममन्त्री शरतसिंह भण्डारी महोत्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साहसँग पराजित भए । पूर्वश्रममन्त्री तथा एमाले सचिव गोकर्णराज विष्ट गुल्मी–२ मा पराजित भए । उनी रास्वपा उम्मेदवार गोविन्द पन्थीसँग पराजित भएका हुन् ।
वैदेशिक रोजगार व्यवसाय क्षेत्रको पृष्ठभूमि भएका उम्मेदवार पनि निर्वाचनमा पराजित भए । यसअघि दुईपटक निर्वाचन जितेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद साँवा लिम्बू पराजित भए । झापा–४ मा एमालेका तर्फबाट उम्मेदवार बनेका लिम्बू रास्वपा उम्मेदवार शम्भुप्रसाद ढकालसँग पराजित भएका हुन् ।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार तिलकबहादुर रानाभाट, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष किरण किशोर घिमिरे पनि पराजित भए ।
कास्की–१ मा कांग्रेसबाट उम्मेदवार बनेका रानाभाट रास्वपाका खड्कराज पौडेलसँग पराजित भएका हुन् । कास्की–१ मा पौडेलले ३९ हजार ८८३ मत पाउँदा रानाभाटले ११ हजार २१४ मत पाए ।
त्यस्तै दाङ–२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका एसोसिएसनका पूर्वअध्यक्ष घिमिरे रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग पराजित भए । आचार्यले ४३ हजार ५५९ मत पाउँदा घिमिरे भने ११ हजार ५५८ मतसहित तेस्रो स्थानमा रहे ।
यस्तै नेकपाको तर्फबाट इलाम–१ मा उम्मेदवार बनेका रनबहादुर राई पनि यो समाचार तयार पार्दासम्म पाँचौं स्थानाा रहेका छन् ।