२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कोरियाका नाममा ठगी धन्दा

shivam cement
२०८२ फागुन २४ गते ०६:२५
Shares
कोरियाका नाममा ठगी धन्दा

काठमाडौं : दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया आउने प्रक्रियामा रहेका नेपाली विद्यार्थीहरूबाट नेपालस्थित शैक्षिक परामर्शदाताहरूले भिसा कोड फि वा कोड भिसा फिका नाममा ठुलो रकम ठगी गरिरहेको बताएको छ ।

नेपाली दूतावासले विद्यार्थीहरूसँग ठुलो रकम माग गर्ने गरेको, भिसा कोडका नाममा माग गरिएको रकम नदिएमा कोरियाको भिसा नलगाइदिने र प्राप्त भएको भिसा समेत रद्द गराइदिने धम्कीसमेत दिने गरेको पाइएको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै नेपाली दूतावासले गैरकानुनी रूपमा ३ हजार अमेरिकी डलर असुल्ने गरेको भनी पीडित विद्यार्थी तथा अभिभावकहरूबाट दूतावासमा गुनासोहरू प्राप्त हुने क्रम बढेको बताएको छ । निरन्तर गुनासो आएपछि दक्षिण कोरियाको सम्बन्धित निकायसँग बुझ्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई डि–२ वा डि–४ भिसावापत आधिकारिक रूपमा ६० अमेरिकी डलरमात्र भिसा शुल्क लाग्ने गरेको र भिसा कोड प्राप्त गर्नका लागि कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जानकारी प्राप्त भएको दूतावासले बताएको छ । 

अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीहरूसँग भिसा कोड वा कोड भिसा वा अन्य कुनै पनि सेवा शुल्कका नाममा अतिरिक्त रकम नअसुल्न र नेपाली विद्यार्थीहरूलाई गैरकानुनी रूपमा धाक धम्की नदिन दूतावासले शैक्षिक परामर्शदाताहरूलाई अनुरोध गरेको छ ।  

अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीहरूलाई समेत आफूले अध्ययन गर्न चाहेको विश्वविद्यालय वा कलेजको अवस्था, अध्ययन गर्ने कोर्स, अध्ययन शुल्क, अध्ययन, अध्यापनको माध्यम भाषालगायतका विषयहरू आफैंले राम्रोसँग अध्ययन गरेर र बुझेर मात्र प्रक्रिया सुरुवात गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर