
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) र कतारले आगामी एक महिनाका लागि ‘ओभरस्टे जरिवाना’ माफ गरेका छन् । युएईस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर युएईमै ओभरस्टे भई बस्नु परेका नेपालीहरूलाई फेब्रुअरी २८ पछि जरिवाना नलाग्ने जनाएको छ ।
कतारको आन्तरिक मन्त्रालयले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै कतारले २८ फेब्रुअरी अर्थात् गत शनिबारदेखि लागू हुने गरी एक महिनाका लागि भिसा थप गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा गरिने भएकाले यसका लागि सम्बन्धित व्यक्तिले शुल्क तिर्न र निवेदन दिनुनपर्ने बताएको छ । तर २८ फेब्रुअरीभन्दा अगाडि ओभरस्टे भएकाको भने जरिवाना तिर्नुपर्ने छ ।
युएईस्थित नेपाली दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाइ अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी गराउन अनुरोध गरेको छ ।
शनिबार संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि अहिले खाडी मुलुक तनावग्रस्त अवस्थामा छन् ।
वैदेशिक रोजगारमा रहेका करिब २० लाख नेपालीको भविष्यसँगै रेमिट्यान्समा निर्भर नेपाली अर्थतन्त्र पनि प्रभावित हुने आकलन गरिएको छ । हालसम्म युएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाएका छन् । अन्य नेपाली त्रासमा भएपनि सुरक्षित रहेका छन् ।
शनिबार अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि मध्यपूर्वमा द्वन्द्व फैलिएको छ । यो युद्ध कति लामो समय जारी रहन्छ र त्यसले विश्व अर्थतन्त्रका लागि कति घातक परिणाम निम्त्याउन सक्छ भन्ने विषयमा अहिले विश्वभर आकलन सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानीहरूले सरकारलाई उल्टाउने समय आएको बताएका छन् । यसले इरानमाथि अमेरिकी थप आक्रमणको आशंका बढाएको छ ।
इरानले इजरायल, बहराइन, कुवेत, कतार, युएई, जोर्डन, साउदी अरेबिया, साइप्रस र होर्मुज जलडमरूबाट गुज्रने जहाजहरूलाई लक्षित गर्दै क्षेत्रभरि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेर प्रतिक्रिया जनाएको छ ।
लेबनानको इरान समर्थित शिया मुस्लिम मिलिसिया समूह हेजबुल्लाहले लेबनानमा रहेको आफ्नो आधारबाट इजरायलमा रकेट प्रहार गर्दै लडाइँमा सामेल भएको छ ।
अमेरिका र इजरायलले शनिबार इरानको क्षेप्यास्त्र पूर्वाधार, सैन्य स्थल र वरिष्ठ नेताहरूलाई लक्षित गर्दै व्यापक आक्रमण गरेका थिए । १९८९ देखि इरानको नेतृत्व गरिरहेका खामेनीको पहिलो लहरको आक्रमणमा तेहरान परिसर ध्वस्त हुँदा मृत्यु भएको थियो ।
इजरायल रक्षा बलले रक्षा परिषद् सचिव अली शामखानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेह र कमाण्डर जनरल मोहम्मद पाकपुरसहित शक्तिशाली इस्लामिक रिभोलुसन गार्ड कोप्र्सभित्रका दर्जनौं वरिष्ठ इरानी राजनीतिक व्यक्तित्व र नेताहरू पनि मारिएको बताएको छ ।