
टोकियो, जापान : आगामी २४ फेब्रुअरी अर्थात् मंगलबार जापानको राजधानी टोकियोमा हुने दोस्रो जापान–नेपाल रोजगार सम्मेलनको तयारी पूरा भएको छ । टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजना हुने रोजगार सम्मेलनमा भाग लिन नेपालबाट करिब ४ दर्जन वैदेशिक रोजगार व्यवसायी जापान आएका छन् ।
मेलामा जापानका करिब एक हजार रोजगारदाताहरू सहभागी हुने तयारी रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा रोजगार मेलाका सहसंयोजक प्रेमबहादुर कटुवालले मध्यान्हलाई जानकारी दिए । भेलाको जापानका न्यायमन्त्री हिरोशी हिरागुचीले उद्घाटन गर्ने कार्यक्रम छ ।
जापानमा न्याय प्रणाली, अध्यागमन जिम्मेवार न्याय मन्त्रालयअन्तर्गत रहेको छ । मेलामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेतृत्व गरेको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । मेलामा संघका महासचिव महेशकुमार बस्नेतले कार्यपत्र प्रस्तुत गर्ने छन् । विदेशी नागरिकहरूको रोजगारीका लागि जापान संघ मुख्य आयोजक रहेको रोजगार मेलाको नेपाली राजदूतावास टोकियो सहआयोजक रहेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, जापानको आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन, जापान आप्रवासन संघ प्रायोजक रहेका छन् । आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन र जापान आप्रवासन संघ प्रायोजक रहेका छन् ।
आप्रवासी कामदारहरूका लागि जापान प्लेटफर्म र अन्तर्राष्ट्रिय व्यक्ति विनिमय समर्थन संघलगायतका संस्था मेलाका साझेदार रहेका छन् ।
नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ गत माघ तेस्रो हप्ता टोकियोमा मनाइएको थियो । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाएकौ पृष्ठभूमिमा आयोजना गर्न लागिएकाले रोजगार मेला दक्ष नेपाली युवायुवतीका लागि आगामी एक दशकसम्मका लागि लाभदायक हुने भएकाले सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको पूर्वअध्यक्ष तथा सहसंयोजक कटुवालले टोकियोबाट मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।
पूर्वअध्यक्ष कटुवालले हाल जापानले १९ वटा क्षेत्रमा दक्ष विदेशी कामदार लैजाने गरेको, तर नेपालमा ८ वटा क्षेत्रमा जाने कामदारको मात्रै सीप परीक्षा हुने र बाँकी क्षेत्रको रोजगारीमा जान जापान, फिलिपिन्स, भियतनाम गएर परीक्षा दिनुपर्ने बाध्यता रहँदा आर्थिक तथा समय दुवै हिसाबले अव्यवहारिक भएकाले बाँकी ११ क्षेत्रको परीक्षा पनि नेपालमा नै हुने व्यवस्था गर्न जरुरी रहेको बताए । अन्य विषय रोजगारदाता र व्यवसायीबीचको सहकार्यमा हुनसक्ने भएपनि ११ क्षेत्रको जाँच नेपालबाट दिन पाउने विषय सरकारी तहबाट उच्च महत्वका पहल गरे मात्रै सफल हुने भएकाले सम्मेलनका तर्फबाट नेपाल सरकारका प्रतिनिधिले जापानी पक्षसँग उक्त विषय गम्भीरताका साथ राख्न जरुरी रहेको बताए ।
संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले सम्मेलनले रोजगारी, मानव संशाधन विकास र नैतिक कार्यबल गतिशीलताको क्षेत्रमा जापान र नेपालबीचको द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने लक्ष्य राखेको बताए । उनले रोजगारदाता र नेपाली एजेन्सीबीच ज्ञान, कामदार भर्ना छनोट, सीप तथा भाषा सम्बन्धका उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गरी भविष्यको सहकार्य अन्वेषण गर्न दुवै देशका सरकारी निकायहरू, रोजगार एजेन्सीहरू, रोजगारदाताहरू र अन्य सम्बन्धित सरोकारवालाहरूका प्रतिनिधिहरूलाई एकसाथ ल्याउने अपेक्षा गरिएको बताए ।
हाल जापानमा नर्सिङ हेरचाह, भवन सफाइ व्यवस्थापन, मेसिन पार्ट्स र टुलिङ, औद्योगिक मेसिनरी, इलेक्ट्रिक÷इलेक्ट्रोनिक÷सूचना, निर्माण, जहाज निर्माण/जहाज मेसिनरी, अटोमोबाइल मर्मतसम्भार, उड्डयन, आवास, कृषि, मत्स्यपालन, खाद्य÷पेय पदार्थ उत्पादन, खाद्य सेवा, वन र काठ उद्योगमा विदेशी कामदारको अभाव छ ।
विदेशी कामदारको अभाव पूर्ति गर्न जापानले २०१९ अप्रिलदेखि निर्दिष्ट सीपयुक्त कामदार (एसएसडब्लु) भिसाअन्तर्गत विदेशी कामदार लैजान थालेको छ । एसएसडब्लु भिसाको सबैभन्दा ठुलो आकर्षण भनेको तलब समानता हो । जापानले ‘समान काम, समान तलब’ नीति लागू गरेको एसएसडब्लु प्रणालीअन्तर्गत जाने नेपाली कामदारको मासिक तलब १ लाख ५० हजारदेखि २ लाख ५० हजार बराबर हुन्छ । ओभरटाइम तलब, रात्रि सिफ्ट भत्ता र बोनस पनि पाउने भएकाले न्यून तलबमा जोखिमयुक्त काम गर्न खाडी, मलेसिया जान बाध्य नेपाली कामदारहरूलाई जापानको रोजगारी धेरै गुणा आकर्षक मानिएको छ ।
सम्मेलनमा सहभागीको तयारीमा रहेकी फ्युचर इम्प्लाइमेन्ट सर्भिसेज प्रा.लि.की सञ्चालिका सुष्मा खत्रीले रोजगार सम्मेलनले जापानको रोजगारीमा लामो समयदेखि रहेको प्रतिकूलता हटाउने तरिकाले तयारी भएकाले आफूहरू उत्साहित रहेको बताइन् । उनले नेपाली व्यवसायी सहभागी हुने सम्मेलनमा जापानका मुख्य रोजगारदाताहरूको संगठन, जापानका सरकारी अधिकारी सक्रिय रूपमा सहभागी हुने निश्चित भएकाले मेलाको थप महत्व बढेको बताइन् ।
उनले जापानमा नेपाली कामदारका लागि अवसर भएपनि दक्षिणपूर्वी अन्य एसियाली मुलुकका कामदारको तुलनामा नेपाली कामदार भाषा तथा सीपका दृष्टिकोणले पछाडि रहेकाले यसमा सुधार गरे खाडी तथा मलेसिया जानुपर्ने हालको बाध्यता अन्त्य हुने र नेपालीले खाडी तथा मलेसियामा १० वर्षमा गर्ने कमाइ जापानमा तीन वर्षमा गर्नसक्ने बताइन् । जापानमा अवसर रहेपनि सबै नेपाली युवायुवती जान नसक्ने भन्दै उनले भाषा सीप, क्षमता बढाउन नेपालले धेरै काम गर्नुपर्नेमा जोड दिइन् ।
जापानमा हाल २३ लाख विदेशी कामदारहरू छन् । विशेषगरी जापानमा कम्बोडिया, थाइल्यान्ड र भियतनाम जस्ता देशहरूबाट ठुलो संख्यामा कामदार आएका छन् ।