
दम्माम, साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका समस्या समाधान आफ्नो उच्च प्राथमिकतामा रहेकोे बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आयोजनामा साउदी अरेबियाको पूर्वी प्रान्त दम्मामस्थित एभरेस्ट नेपाली होटलमा आयोजना गरिएको सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी विषयक अन्तरक्रिया कार्यक्रममा डा शर्माले उक्त प्रतिबद्धता जनाएका हुन् ।
हाल साउदी भ्रमणमा रहेका डा. शर्मा गैरआवासीय नेपाली संघका उपाध्यक्षको जिम्मेवारीमा छन् । डा. शर्मा नेतृत्वको प्रतिनिधिमण्डलको उपस्थितिमा एनआरएनए साउदी एनसिसी अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रियामा उपाध्यक्ष डा. शर्मासँगै संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, युरोप संयोजक डा. चिरञ्जीबी खड्का तथा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालसहितको टोली सहभागी थियो । कार्यक्रममा साउदीमा सक्रिय विभिन्न संघ–संस्था, एनआरएनएका सदस्य तथा आम श्रमिकबीच खुला छलफल भएको थियो ।
उपाध्यक्ष डा. शर्माले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिलेको बताउँदै नेपाली कामदारहरूले झेल्नुपरेको समस्या समाधानका लागि सम्भव सबै पहल तत्काल गर्ने प्रतिबद्धता जनाए । एनसिसी साउदीको समन्वयमा सञ्चालन हुँदै आएको राहदानी शिविरका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि तुरुन्त पहल गरिने उनले बताए । सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी आफ्नो दीर्घकालीन एजेन्डा रहेको उल्लेख गर्दै, मार्च महिनामा आयोजना हुने एनआरएनएको १२औं महाधिवेशनमा आफू यी समस्या समाधानका लागि नै अध्यक्ष पदका प्रत्यासी रहेकाले समर्थनको आग्रह पनि गरे ।
त्यसैगरी महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघका विभिन्न अभियानमा आफू सक्रिय रूपमा संलग्न भई सफलतापूर्वक काम गरेको अनुभव सुनाउँदै गैरआवासीय नेपालीको लगानी र सहभागिताबारे धारणा राखिन् । आफू खुला उपाध्यक्ष पदकी प्रत्यासी रहेको उल्लेख गर्दै उनले उपस्थित सदस्यहरूसँग समर्थनको अपेक्षा व्यक्त गरिन् ।
युरोप संयोजक डा. खड्काले साउदीसहित खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या प्रत्यक्ष रूपमा बुझिएको र ती विषय संघभित्र छलफल गरिने बताए । मध्यपूर्व संयोजक अर्यालले एनआरएनए र दूतावासबीच समन्वय गर्दै आम श्रमिकसम्म संघको पहुँच विस्तार गरिएको र कोरोना महामारीका बेला संघले खेलेको भूमिकाबारे जानकारी गराए ।
अन्तरक्रियाका क्रममा सहभागीहरूले सुरक्षित वैदेशिक रोजगारी, श्रम, बिमा, श्रमिक समस्या, सरकारको भूमिका र एनआरएनएसम्बन्धी प्रश्न उठाएका थिए । ती प्रश्नहरूको उत्तर उपाध्यक्ष डा. शर्मा, महिला उपाध्यक्ष राई र युरोप संयोजक डा. खड्काले दिएका थिए । संघले गर्न सक्ने विषयमा तत्काल पहल गर्ने र नसक्ने विषयलाई औपचारिक प्रतिवेदनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइने जनाइएको छ ।
यसैबीच साताव्यापी मध्यपूर्व भ्रमण सुरु गरेका डा. शर्माले बहराइन, साउदी अरब, कतार र युएईलगायत देशहरूमा भ्रमण गर्ने जानकारी दिएका छन् । मार्च १४–१६ मा आयोजना हुने एनआरएनएको १२औं महाधिवेशनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यका साथ यो भ्रमण गरिएको आकलन गरिएको छ ।