
टोकियो, जापान : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले मागपत्र प्रमाणीकरण सरलीकरण गर्न जापानस्थित नेपाली राजदूतावासको ध्यानाकर्षण गराएको छ । मंगलबार जापानको राजधानी टोकियोमा हुने दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन आएको संघ प्रतिनिधिमण्डलले सोमबार नेपाली राजदूतावास टोकियोमा कार्यवाहक राजदूत हरिहरकान्त पौडेललाई भेटेर रोजगार सम्मेलनको तयारीसहित लामो समयदेखि समाधान नभएको मागपत्र प्रमाणीकरण समस्याले पारेको समस्याबारे छलफल गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
संघले जापानमा नेपालीका लागि आकर्षक तलबसहितको रोजगारीको पर्याप्त अवसर रहेपनि समयमा मागपत्र प्रमाणीकरण नहुँदा नेपाली कामदारले पाउने राम्रो अवसर गुमेको विषयमा गम्भीर ध्यानाकर्षण गराएको पनि महासचिव बस्नेतले जानकारी दिए ।
जवाफमा कार्यवाहक राजदूत पौडेलले नेपाली राजदूतावासले सीमित जनशक्तिका बाबजुद काम गर्नुपरेको बताए । जापानमा एक हजार नेपाली हुँदा पनि नेपाली राजदूतावासमा ३ जनाको दरबन्दी रहेको र हाल जापानमा नेपालीको संख्या तीन लाख पुग्दा र अन्य जिम्मेवारी थपिँदा पनि जनशक्ति थप हुन नसकेका कारणले व्यवसायीहरूले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिनाइ रहेको कार्यवाहक राजदूत पौडेलले अवगत गराएका थिए ।

संघ र राजदूतावासको छलफलमा रोजगार सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोकियो आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायतका सरकारी कर्मचारीहरू पनि सहभागी रहेका थिए ।
नेपाल–जापान बहुप्रतीक्षित दोस्रो रोजगार सम्मेलन मंगलबार जापानको राजधानी टोकियोमा सुरु हुँदैछ । टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजना हुने रोजगार सम्मेलनमा भाग लिन नेपालबाट ६० भन्दा बढी म्यानपावर व्यवसायी जापान आएका छन् ।
मेलामा जापानका करिब एक हजार रोजगारदाता सहभागी हुने तयारी रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा रोजगार मेलाका सहसंयोजक प्रेमबहादुर कटुवालले जानकारी दिए । मेलाको जापानका न्यायमन्त्री हिरोशी हिरागुचीले उद्घाटन गर्ने कार्यक्रम छ ।
जापानमा न्याय प्रणाली, अध्यागमन जिम्मेवारी न्याय मन्त्रालय अन्तर्गत रहेको छ । सम्मेलनमा नेपालका तर्फबाट श्रमसचिव डा. काफ्ले नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । मेलामा संघका महासचिव महेशकुमार बस्नेतले नेपाली कामदारको सीप, भर्ना प्रक्रियालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । विदेशी नागरिकहरूको रोजगारीका लागि जापान संघ मुख्य आयोजक रहेको रोजगार मेलाको नेपाली राजदूतावास टोकियो सहआयोजक रहेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, जापानको आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन तथा जापान आप्रवासन संघ प्रयोजक रहेका छन् ।
आप्रवासी कामदारहरूका लागि जापान प्लेटफर्म र अन्तर्राष्ट्रिय व्यक्ति विनिमय समर्थन संघलगायतका संस्था साझेदार रहेका छन् ।
रोजगार मेला दक्ष नेपाली युवायुवतीका लागि आगामी एक दशकसम्म लाभदायक हुने भएकाले सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको व्यवसायीहरूले बताएका छन् ।