
टाेकियाे, जापान : जापानको राजधानी टाेकियाेमा नेपाल-जापान दाेस्रो रोजगार सम्मेलन आयोजना गरिएको छ । मेलाको जापानका न्यायमन्त्री हिरोशी हिरागुची, नेपालको श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पाैडेलले उद्घाटन गरेका थिए ।
टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो-कानमा आयाेजना गरिएको राेजगार सम्मेलनमा नेपालबाट ३८ म्यानपावर कम्पनी सहभागी थिए । मेलामा जापानका करिब ५ सय राेजगारदाता सहभागी भई नेपाली म्यानपावर व्यवसायीहरूसँग उत्साह र अभिरुचिका साथ अन्तरक्रिया गरेका थिए ।

नेपाल वैदेशिक राेगजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा राेजगार मेलाका सहसंयाेजक प्रेमबहादुर कटुवालले राेजगार सम्मेलनमा जापानी राेजगारदाताकाे सक्रिय सहभागिता रहेको जानकारी दिए ।
रोजगार सम्मेलनलाई सम्बोधन गर्दै श्रमसचिव काफ्लेले रोजगारीको खोजीमा रहेका नेपालीलाई जापान पठाउन सरकारले सहजीकरण गर्ने उल्लेख गरे । उनले जापानमा रहेका नेपालीको समस्या समाधानका लागि पनि सरकारले आवश्यक पहल गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए ।

सम्मेलनमा संघका महासचिव महेशकुमार बस्नेतले नेपाली कामदारको सीप, भर्ना प्रक्रियालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट उनले नेपाल जापान रिक्रुटमेन्ट डेस्क स्थापनाका लागि जाेड दिएका छन् । उनले डेस्कले दुवै देशका नीतिगत सुधार र संवादलाई निरन्तरता दिने, समस्या र सम्भावनामा जिम्मेवार भूमिक निभाउने र जापानसँगको संस्थागत सहकार्यलाई संस्थागत रूप दिने उल्लेख गरे ।

पूर्वअध्यक्ष कटुवालले हाल जापानले १९ वटा क्षेत्रमा दक्ष विदेशी कामदार लैजाने गरेको, तर नेपालमा ८ वटा क्षेत्रमा जाने कामदारको मात्रै सीप परीक्षा हुने र बाँकी ११ क्षेत्रकाे राेजगारीमा जान जापान, फिलिपिन्स, भियतनाम गएर परीक्षा दिनुपर्ने बाध्यता रहँदा आर्थिक तथा समय दुवै हिसाबले अव्यवहारिक भएकाले बाँकी ११ क्षेत्रकाे परीक्षा पनि नेपालमा नै हुने व्यवस्था गर्न नेपाल सरकारका प्रतिनिधिले जापानी पक्षसँग गम्भीरताका साथ विषयवस्तु राख्न जरुरी रहेको उल्लेख गरे ।

रोजगार सम्मेलनको उद्घाटन सत्रमा जापान–नेपाल पार्लियामेन्ट्री फ्रेन्डसिप लिगका चेयरम्यान तथा हाउस अफ काउन्सिलर्सका सदस्य योसुके सुरो, इमिग्रेसन सर्भिस एजेन्सीकी फस्र्ट कमिस्नर तथा इमिग्रेसन एसिस्टेन्स एसोसिएसनकी डाइेक्टर सिको ससकी, जापान इन्टरनेसनल ट्रेनी तथा स्किल्ड वर्कर कोअपरेसन अर्गनाइजेसनका चेयरम्यान सिन्जी ओगवा, फरेन इम्प्लोइमेन्ट काउन्सिलका डाइरेक्टर सन्तोष पौडेल, रेसिडेन्स म्यानेजमेन्ट सपोर्ट डिपार्टमेन्टकी डाइरेक्टर नोबुको फुकुहारालगायतले जापानमा नेपालीहरूको रोजगारीलाई व्यवस्थित र सनिश्चित गर्न रोजगार सम्मेलन सहायक हुने तथा रोजगारी प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका थिए ।
सो क्रममा जापानी पक्षका वक्ताहरूले जापानमा कामदारको ठुलो अभाव रहेको र विदेशी कामदारबिना अभाव पूर्ति नहुने उल्लेख गरेका थिए ।

विदेशी नागरिकहरूको रोजगारीका लागि जापान संघ मुख्य आयोजक रहेको रोजगार मेलाको नेपाली राजदूतावास टोकियो सहआयोजक रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, जापानको आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन तथा जापान आप्रवासन संघ प्रयाेजक रहेका छन् ।

राेजगार सम्मेलनको उद्घाटन सत्रपछि रोजगार मेला सञ्चालन गरिएको थियो । रोजगार मेला करिब ५ घण्टा चलेको थियो । मेलामा ३८ म्यानपावर कम्पनीका साथै टोकियोस्थित नेपाली राजदूतावास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र केही जापानी संस्थाहरूले स्टल राखेर आ-आफ्ना संस्थाबारे आगन्तुकहरूलाई स्वागतसहित जानकारी गराएका थिए । स्टलमा जापानी रोजगारदाताहरूले पनि विशेष चासो राख्दै अवलोकन गरेका थिए । कार्यक्रमको अन्त्यमा करिब २ घण्टा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आप्रवासी कामदारहरूका लागि जापान प्लेटफर्म र अन्तर्राष्ट्रिय व्यक्ति विनिमय समर्थन संघ लगायतका संस्था साझेदार रहेका छन् । मध्यान्ह राष्ट्रिय दैनिक सम्मेलनमा मिडिया पार्टनर रहेको छ ।




