२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जापानको रोजगारीको मूलढोका खुल्यो : व्यवसायी

shivam cement
मदनकुमार श्रेष्ठ
२०८२ फागुन १४ गते ०६:१५
Shares
जापानको रोजगारीको मूलढोका खुल्यो : व्यवसायी

टोकियो, जापान : जापानको टोकियोमा नेपाल–जापान दोस्रो रोजगार सम्मेलनमा जापानी रोजगारदाताको उल्लेख्य सहभागिता भएपछि नेपालका वैदेशिक रोजगार व्यवसायी उत्साहित भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो नेपाल–जापान रोजगार सम्मेलनको उद्घाटन गर्न जापानी मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि वरिष्ठतम् हैसियतमा रहेका जापानका न्यायमन्त्री हिरोशी हिरागुची नै उपस्थित भए । साथमा साढे ६ सयभन्दा बढी जापानी रोजगारदाता, नेपालबाट गएका र जापानमा रहेका गरी ९५ जना व्यवसायीको उत्साहजनक सहभागिता भएपछि नेपाली व्यवसायी बढी उत्साहित भएको रोजगार सम्मेलनमा सहभागी भई नेपाल फर्केका नेपाल वैदेशिक रोगजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले मध्यान्ह दैनिकलाई जानकारी दिए । पूर्वअध्यक्ष कटुवाल संघको तर्फबाट रोजगार सम्मेलनका सह संयोजकसमेत हुन् ।

जापानका न्यायमन्त्री हिरागुजीले कामका लागि आउने नेपाली श्रमिकका लागि सबै किसिमका सहयोग गर्न जापान तयार रहेको प्रतिबद्धता जनाउनुलाई पनि उपलब्धिका रूपमा हेरिएको छ ।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, वैदेशिक रोजगार व्यवसायी र जापानी न्यायमन्त्रीको साइडलाइन छलफल समेत भएको थियो ।

जापानी न्याय मन्त्रालयले विदेशी कामदारको आवागमन जोडिएको अध्यागमन नियन्त्रण, आप्रवासन र नागरिकता, भिसा प्रदान, निर्वासन र शरणार्थी मान्यता ह्यान्डल र अध्यागमन सेवा एजेन्सीहरूको निरीक्षण गर्ने गर्दछ । उक्त मन्त्रालयका मन्त्री नै सम्मेलनमा सक्रियतापूर्वक सहभागी भएपछि नेपाली पक्षलाई आफ्नो तर्फका कुरा राख्न सहज भएको अनुभव पनि पूर्वअध्यक्ष कटुवालले सुनाए ।

हाल जापानले १९ वटा क्षेत्रमा विदेशी कामदार ल्याएको छ । जापानी रोजगारदाताहरूले विदेशी कामदारको जापानी भाषा र सीपलाई अत्यन्तै प्राथमिकतामा राख्ने गरेका छन् । पूर्वअध्यक्ष कटुवालले रोजगार सम्मेलनले आगामी १० वर्षका लागि जापानी श्रम बजारमा नेपाली कामदारका लागि अवसरको ढोका खोलेको र नेपाली व्यवसायीले जापानी स्ट्यान्डर्ड अनुसार जापानको सिस्टमलाई अक्षरस पालना गरी जापानी भाषा र सीप सिकाएर कामदार पठाउने विषयमा कठोर परिश्रम गर्नपर्ने बताए । ‘मलेसिया र खाडी मुलुकमा जस्तो सजिलोसँग कामदार पठाउन सकिँदैन,’ उनले भने, ‘व्यवसायीहरूले जापानी स्ट्यान्डर्ड अनुसार आफ्नो दक्षता बढाउन जरुरी छ ।’

सम्मेलनमा नेपाली कामदारको सीप भर्ना प्रक्रियालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका संघका महासचिव महेशकुमार बस्नेतले दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली निजी क्षेत्रका व्यवसायीबीच प्रत्यक्ष छलफल हुनुलाई उपलब्धिमूलक मानेको बताए ।

महासचिव बस्नेतले पनि नेपाली श्रमिकको भाषा दक्षता र सीप बढाएर पठाउने विषयका अतिरिक्त रोजगारदाता नेपाली राजदूतावाससँग प्रत्यक्ष छलफल सम्मेलनको मुख्य विषय  भएको भन्दै संस्थागत रूपमा कामदार पठाउने विषयमा नयाँ ढोका नै खोलेको बताए । 

ठुलो संख्यामा सहभागी नेपाली व्यवसायीले रोजगारदाताहरूसँग प्रत्यक्ष सम्पर्क कायम गर्न पाएको घटनाले जापानसँग द्विपक्षीय सम्बन्ध मात्रै नभएर श्रम सम्बन्ध पनि बलियो बनाएको उनको भनाइ छ ।  

संघको तर्फबाट उनले नेपाल–जापान रिक्रुटमेन्ट डेस्क स्थापनाका लागि जोड दिएका थिए । डेस्कले  दुबै देशका नीतिगत सुधार र संवादलाई निरन्तरता दिई समस्या र सम्भावनामा जिम्मेवार भूमिका निभाउने र जापानसँगको संस्थागत सहकार्यलाई संस्थागत रूप दिने अवस्था बनेको पनि महासचिव बस्नेतले उल्लेख गरे । उनले व्यक्तिगत रूपमा असुरक्षित तरिकाबाट जाने प्रवृत्ति रोकेर संस्थागत रूपमा पठाउनुपर्ने विषयलाई पनि सम्मेलनले जोड दिएको टिप्पणी गरे ।

पूर्वअध्यक्ष कटुवालले हाल जापानले १९ वटा क्षेत्रमा दक्ष विदेशी कामदार लैजाँदा नेपालबाट केयर गिभर, कृषि, निर्माण, सेवासहित आठ वटा क्षेत्रबाट जाने कामदारको मात्रै सीप परीक्षा हुने भएकाले बाँकी ११ क्षेत्रको रोजगारीमा सीपको परीक्षा पनि नेपालमा नै हुने व्यवस्था गर्ने विषय पनि छलफलमा उठेकाले त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए ।

नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको रापताप र पृष्ठभूमिमा आयोजना गरिएको रोजगार सम्मेलन समय सन्दर्भका दृष्टिकोणले समेत लाभदाय भएको कतिपय व्यवसायीहरूले टिप्पणी गरे ।

सम्मेलनमा सहभागी जापानी रोजगारदाताले नेपालबाट छिटो र पारदर्शी रूपमा श्रमिक ल्याउन चाहेको बताएका छन् । नेपाली श्रमिक इमान्दार र परिश्रमी रहेकाले ल्याउन खोजेको जापानको रोजगारदाता संघका निर्देशक तेत्सुहितो सुगिमुराको भनाइ थियो । भर्ना प्रक्रिया पारदर्शी बनाउन र इच्छुक नेपाली श्रमिकलाई जापानीसरह सहयोग गर्न तयार रहेको जापानी न्यायमन्त्रीले प्रतिबद्धता जनाएका छन् । 

संघको प्रतिनिधिमण्डलले मागपत्र प्रमाणीकरण सरलीकरण गर्न जापानस्थित नेपाली राजदूतावासको ध्यानाकर्षण गराएको छ । नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललाई भेटेर लामो समयदेखि समाधान नभएको मागपत्र प्रमाणीकरण  समस्याले पारेको समस्याबारे छलफल गरेको थियो । कार्यवाहक राजदूत पौडेलसँग सौहार्दपूर्ण रूपमा छलफल हुनुलाई पनि व्यवसायीहरूले उपलब्धिका रूपमा लिएका छन् ।

सम्बन्धित खबर