सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम मंगलवार संघीय संसदको संयुक्त अधिवेशनमा प्रस्तुत गरेकी छन् । ६६ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारीले दुई घण्टा बढी लागेको थियो । नीति तथा कार्यक्रम बजेटको निर्देशक भएकाले संक्षिप्तमा हुनुपर्ने हो । तर पछिल्ला सरकारले बजेट नै जस्तोगरी नीति तथा कार्यक्रम प्रस्तुत हुने गरेको छ । यसपटक पनि सरकारले लामो नीति तथा कार्यक्रम बनाएको छ । चालु आर्थिक वर्षको बजेट अगाडि भने नीति तथा कार्यक्रम ल्याइएको थिएन । तत्कालीन सरकारले प्रतिनिधिसभा नै विघटन गरेर अध्यादेशबाट बजेट ल्याएको थियो ।
तर प्रतिनिधिसभा पुनस्र्थापना भएर बनेको सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम पारित भएपछि बजेट आउनेछ । मंगलवार प्रस्तुत नीति तथा कार्यक्रमबारे मिश्रित प्रतिक्रिया आएको देखिन्छ । प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमप्रति आलोचना गरेको छ । वस्तुगत आधार भुलेर सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको एमालेका नेताहरुले प्रतिक्रिया दिएका छन् । सत्ता पक्षले भने सन्तुलित र वस्तुगत आधारमा नीति तथा कार्यक्रम आएको भन्दै बचाऊको प्रयत्न गरेका छन् । तर लामो नीति तथा कार्यक्रम प्रस्तुत भएकाले बजेटमा हुने बिस्तारित कार्यक्रम बनाउन सजिलो नहुने देखिन्छ । श्रोत व्यवस्थापनको सन्तुलन मिलाएर नीति तथा कार्यक्रममा समावेश कार्यक्रम ल्याउन बजेट नपुग्ने टिप्पणी तथ्य नजिक देखिन्छ ।
सरकारलाई लोकप्रिय बनाउने प्रयोजनका निम्ति देखाइएको ठूला सपना सम्बोधन गर्दै बजेट ल्याउन कठिन हुनेछ । नीति तथा कार्यक्रम बजेटको निर्देशक सिद्धान्त भएकाले त्यस बमोजिमको कार्यक्रम एउटै आर्थिक वर्षबाट कार्यान्वयनको थालनि नहुने प्रष्ट देखिन्छ । बिगतका बजेटले पनि त्यही पुष्टि गर्छ । ठूलो र कार्यान्वयन नहुने कार्यक्रम प्रस्तुत गर्ने, तर त्यसका निम्ति आवश्यक बजेट तर्जुमा हुन नसक्ने प्रवृत्ति पुरानै समस्या हो । यसको अर्थ सबैलाई खुशी बनाउन खोज्दा कोही पनि खुशी बन्न नसक्ने समस्या विगतका सरकारहरुले पनि भोग्दै आएका छन् । यसपटक पनि आलोचनाबाट बच्न सबैलाई खुशी बनाउने प्रयत्न बजेटबाट हुने प्रस्ट संकेत देखिन्छ । आगामी आर्थिक वर्ष संसदीय र प्रदेश चुनाव हुने भएकाले पनि सरकारको ध्यान बितवरणमुखी र महत्वकांक्षी कार्यक्रमतिर गएको हुन सक्छ । तर वस्तुगत आधार तयार पारेर मात्रै बजेट ल्याउदा मुलुकको हितमा हुनेछ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies