
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले सचेत भई युएईका ऐन कानुन पालना गर्न त्यहाँ रहेका नेपालीलाई पुनः ध्यानाकर्षण गराएको छ ।
गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि युएई प्रशासन नेपालीप्रति बढी सजग भइरहेको अवस्थामा राजदूतावासले त्यहाँ रहेका नेपाली कामदार तथा अन्य पेसा व्यवसाय गरेर बसेका नेपालीलाई सचेत गराएको हो ।
हाल ४ लाख बढी नेपाली कार्यरत रहेको युएईमा गत भदौको जेनजी आन्दोलनमा नेपालको सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेपाली समुदायलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताइएको छ । त्यसअघिसम्म मादक पदार्थ अत्यधिक पिउने विदेशीको नजरले हेरेको युएईले हाल नेपालीलाई उद्दण्ड र अराजकको दृष्टिकोणले हेर्ने गरेको बताइन्छ ।
नेपाली राजदूतावासले युएईमा विभिन्न पेसा, व्यवसाय, अध्ययन, रोजगारी वा पर्यटनका लागि आएर बसोबास गरिरहेका वा कामदारको हैसियतले कार्यरत सम्पूर्ण नेपालीलाई आफू कार्यरत कम्पनी, बसोबास गर्ने स्थान, बजार, पार्क, खेलमैदान वा अन्य सार्वजनिक स्थलमा सधैं मर्यादित, अनुशासित, नैतिकवान, इमान्दार र कर्तव्यनिष्ठ रही युएईको स्थानीय नियम, कानुन तथा आचारसंहिता, राजनीतिक, आर्थिक–वित्तीय, सामाजिक, सांस्कृतिक क्षेत्रमा अनुशासनको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।
राजदूतावासले जानेर वा नजानेर कुनै व्यक्तिद्वारा कसैको ज्यान गएमा, व्यक्तिवादी मुद्दामा परिएमा, आतंककारी गतिविधिमा संलग्न भएमा तथा मादक पदार्थ, लागूपदार्थ दुरुपयोग, ओसारपसारको मुद्दामा मृत्युदण्ड समेत हुने कानुनी व्यवस्था रहेकाले यस्ता किसिमका कारोबारमा संलग्न नहुन आग्रह गरेको छ ।
युएईको समाज अत्यन्त अनुशासित रहेको भन्दै नेपाली राजदूतावासले आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मूल्य मान्यता तथा प्रचलनको ख्याल गरी मर्यादित र अनुशासित रूपमा बस्नुपर्ने बताएको छ ।
वैदेशिक रोजगारीका निम्ति रोजगार भिसमा मात्र जानुपर्ने, भिजिट वा फ्रिलान्सर भिसाको प्रलोभनमा पर्न नहुने भन्दै राजदूतावासले भिजिट वा फ्रिलान्सर भिसामा ठगी हुने र काम नपाई अलपत्र परिने सम्भावना बढी हुनुका साथै त्यसले ओभरस्टे भएर जरिवानामा परिने र उक्त मुलुक जान नपाउने गरी कालोसूचीमा पर्ने सम्भावना हुने चेतावनी दिएको छ ।
वैदेशिक रोजगारीका निम्ति जाँदा आफ्नो राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, कम्पनीको सम्पर्क नम्बर तथा ठेगाना, रोजगार सम्झौताको प्रति र इमिरेट्स परिचयपत्र बनिसकेपछि त्यसको प्रतिलिपि सुरक्षित रूपमा आफूले पनि राख्ने र परिवारलाई पनि पठाउनुपर्ने राजदूतावासले बताएको छ ।
वैदेशिक रोजगारीमा जानु अघि आफू काम गर्न आउने कम्पनीका बारेमा राम्रोसँग जानकारी लिन, रोजगारदाता कम्पनीसँग रोजगार सम्झौता गर्दा करारपत्र राम्ररी हेरेर अध्ययन गरेर मात्र हस्ताक्षर गर्न पनि राजदूतावासले आग्रह गरेको छ ।
वैदेशिक रोजगारी नेपालमा सोचेजस्तो सहज नहुने भन्दै राजदूतावासले आरामदायी जिन्दगी र सुनौलो सपनाको भ्रममा नपरी विदेशमा श्रम गर्ने कार्य कठिन हुन्छ भन्ने विषयमा मानसिक रूपमा तयार भएर मात्र वैदेशिक रोजगारीमा आउन युवायुवतीलाई आग्रह गरेको छ ।
श्रमिक र रोजगारदाता कम्पनीका बीच हुने करारमा सामान्यतया दुई वर्ष अवधि हुने भएकाले नेपालमा जस्तो सबै कुरा सहज हुने बुझाइका आधारमा ‘दुई–चार महिना हेर्छु, सकिनँ भने घर फर्किन्छु’ भन्ने सोच नराख्न पनि राजदूतावासले आग्रह गरेको छ ।
बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाइदिन्छु भनी नेपाली नागरिकको इमिरेट्स अनधिकृत व्यक्तिले प्रयोग गरी बैंकबाट ऋण लिएर फसाइदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा फसेका मुद्दाहरु ठुलो संख्यामा आइरहेको बताउँदै राजदूतावासले कुनै पनि किसिमको प्रलोभनमा नपरी आफ्नो इमिरेट्स आइडी कोही व्यक्तिलाई नदिन आग्रह गरेको छ ।
श्रमसम्बन्धी गुनासो भएमा वा तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा तत्कालै नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । काम गरेको कम्पनीमा श्रम सम्बन्धी समस्या वा गुनासो भएमा कम्पनी छाडेर नहिँडी राजदूतावास वा महावाणिज्यदूतावासमा स्वयं उपस्थित भई आफ्नो समस्या प्रस्तुत गरेमा समस्याको सहज निवारण गर्न सकिने, तर कम्पनी छोडेर भागिसकेपछि कम्पनीले भगौडाको रूपमा नाम दर्ता गरिदिने र जरिवाना तिर्नुपर्ने राजदूतावासले बताएको छ ।