२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

श्रमिक आवाजको अनुभवी नेतृत्वः राजेन्द्र अर्यालको सचिव उम्मेद्वारी

Nada
अन्जान गुभाजु
२०८२ फागुन १६ गते ०९:२७
Shares
श्रमिक आवाजको अनुभवी नेतृत्वः राजेन्द्र अर्यालको सचिव उम्मेद्वारी

साउदीः आगामी मार्च १४–१६ मा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १२औँ बृहत् एकता महाधिवेशनमा सचिव पदका लागि राजेन्द्र अर्यालले उम्मेद्वारी घोषणा गरेका छन् । मध्यपूर्व जस्तो प्रमुख श्रम गन्तव्यबाट श्रमजीवी नेपालीहरूको प्रतिनिधित्व गर्दै सुरक्षित र मर्यादित वैदेशिक रोजगारी तथा नेपालमा न्यूनतम लगानीको सुनिश्चितताको एजेन्डा अघि सार्दै उनी चुनावी मैदानमा उत्रिएका हुन्।

ncell

अर्याल दुई कार्यकालसम्म एनआरएनएको मध्यपूर्व संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका अनुभवी नेतृत्वकर्ता हुन्। उनको कार्यकालमा मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली समुदायबीच संगठनात्मक एकता मजबुत बनाउने, श्रमिकका समस्यालाई केन्द्रीय तहसम्म पुर्‍याउने र उद्धार तथा सहायताका अभियानलाई प्रभावकारी बनाउने काम उल्लेखनीय रह्यो। समस्यामा परेका श्रमिकहरूको उद्धार, कानुनी परामर्श तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले श्रमिकमैत्री अभियानलाई संस्थागत स्वरूप दिन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

हाल साउदी अरेबियामा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका अर्याल नेपाल सरकारद्वारा साउदी अरेबियाका लागि नियुक्त अवैतनिक पर्यटनदूतसमेत छन् । यस जिम्मेवारीमार्फत उनले नेपाल–साउदी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहकार्यका सम्भावनालाई उजागर गर्ने प्रयास गर्दै आइरहेका छन्। वैदेशिक रोजगारीलाई केवल श्रम आपूर्तिको रूपमा होइन, आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्ने उनको दृष्टिकोण स्पष्ट देखिन्छ।

श्रमिकहरूको पसिना र योगदानलाई दीर्घकालीन विकाससँग जोड्ने, सुरक्षित रोजगारी सुनिश्चित गर्ने तथा श्रमिकलाई लगानी र उद्यमशीलतामा प्रेरित गर्ने उनको योजना रहेको छ। सचिव पदमा निर्वाचित भए संगठनलाई अझ पारदर्शी, उत्तरदायी र श्रमिककेन्द्रित बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

राजेन्द्र अर्यालको उम्मेद्वारी मध्यपूर्वका श्रमिक समुदायको अनुभव, समर्पण र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय तहमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। उनले संघका अभियन्ता, अग्रज, सहकर्मी र सम्पूर्ण शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनको हार्दिक अपिल गरेका छन्।  
 

ताजा खबर

सम्बन्धित खबर