
काठमाडौं : अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन र इरानलगायतका देशमा कार्यरत आप्रवासी श्रमिकहरू जोखिममा परेको भन्दै उनीहरूले सचेत रहन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, दासत्व विरोधी अन्तर्राष्ट्रिय संगठन, आइटियुसी अफ्रिका, श्रमिक सञ्जाल, खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय तथा अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघले संयुक्त रूपमा ऐक्यबद्धता जारी गर्दै इजरायल–अमेरिका र इरानबीचको आक्रमणका कारण खाडी देशहरूमा रहेका आप्रवासी श्रमिकहरू थप जोखिममा परेको बताएका हुन् ।
त्यस क्षेत्रमा १९ लाख बढी नेपाली छन् । उनीहरूले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ३ करोड १० लाखभन्दा बढी आप्रवासी कामदारहरू प्रभावित भइरहेको बताएका छन् ।
युद्ध र अस्थिरताका कारण लाखौं आप्रवासी श्रमिकहरूले रोजगारी गुमाउने, काम गर्ने ठाउँमा सुरक्षा अभाव हुने तथा आपत्कालीन अवस्थामा उद्धार र सहायताको पहुँच नपाउने जोखिम बढेको उनीहरूको भनाइ छ ।
श्रमिकहरूको जीवन, श्रम अधिकार र मानव अधिकारको रक्षा गर्न स्पष्ट नीतिगत तथा मानवीय पहल आवश्यक रहेको पनि उल्लेख गर्दै विज्ञप्तिमा खाडी क्षेत्रका देशहरूमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय संस्थाहरूलाई तुरुन्त कदम चाल्न पनि आग्रह गरिएको छ ।
आप्रवासी श्रमिकहरू विश्व अर्थतन्त्रका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विज्ञप्तिमा युद्ध र द्वन्द्वको अवस्थामा उनीहरूलाई सुरक्षा, सूचना, उद्धार तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।