
काठमाडौं : मलेसियामा सुरक्षा गार्डमा काम गर्ने नेपाली कामदारहरूले आफूहरूमाथि निरन्तर अन्याय भइरहेको गुनासो गरिरहेका छन् । मलेसियामा नेपालीहरू सुरक्षा गार्ड, उत्पादन, कृषि, होटल तथा अन्य क्षेत्रमा कार्यरत रहेका छन् । उनीहरू सबैले मलेसिया सरकारले तोकेको न्यूनतम मासिक १७ सय रिंगेट पाइरहेका छन् ।
स्थानीय मुद्रा र अमेरिकी डलरको मूल्य वृद्धिका कारण तलब बढ्दा उनीहरू थप लाभान्वित भएका छन् । तर सुरक्षा गार्डको काम गर्ने नेपालीहरूले तोकिएको तलब नपाएको र नेपाली दूतावासले तलब नदिने कम्पनीमाथि कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले शुक्रबार सञ्चालन गर्ने साप्ताहिक फेसबुक कार्यक्रममा सहभागी अधिकांश नेपालीले सेक्युरिटी कम्पनीहरूले तोकिएको सेवा–सुविधा नदिँदा पनि अनुगमन र कारबाही नगरेर दूतावासले फेसबुक लाइभमा बसेर समयको बर्बादी मात्र गरेको गुनासो गरेका छन् ।
उनीहरूले जी सेक्युरिटी, रेड इगल सेक्युरिटी, मास सेक्युरिटी गार्ड जस्ता कम्पनीहरूले तोकिएको तलब नदिएको, बिना तलब अतिरिक्त समय काम गराएको, हप्ताको एक दिन बिदा नदिएको बताएका छन् । केही कम्पनीविरुद्ध बढेको तलब र बिदा नदिएको उजुरी ह्वाट्सएप र इमेलमार्फत दैनिक सयौंको संख्यामा दर्ता हुने गरेका छन् ।
नेपाली सुरक्षा गार्डहरूलाई १२ घण्टासम्म काम लगाएर १७ सयदेखि बढीमा दुई हजार रिंगेटसम्म तलब दिएको समाचार मलेसियाली सञ्चारमाध्यमहरूमा पनि आउने गरेका छन् ।
नेपाली दूतावासमा कार्यरत काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालले मलेसियामा सुरक्षा गार्डको समस्या समाधानका लागि पहल भइरहे पनि पूर्ण समाधान हुन नसकेको, तर दूतावास चुप लागेर नबसेको बताएका छन् ।
यसअघि न्यूनतम तलब नपाएको गुनासो बढेपछि मलेसिया सरकारले नेपाली सुरक्षा गार्ड कार्यरत ३५ वटा सेक्युरिटी कम्पनीको निरीक्षण गरेको थियो । काउन्सिलर (श्रम) भुसालका अनुसार नेपाली दूतावासले न्यूनतम १७ सय रिंगेट तलबको बैंक ट्रान्सफर स्लिप, सामाजिक सुरक्षा कोष र सेवा–सुविधा सुनिश्चित नभएसम्म मागपत्र प्रमाणीकरण गर्ने गरेको छैन ।
उनले मलेसियामा नेपाली सुरक्षा गार्डहरूले बढेको तलब नपाउने समस्या समाधान गर्न नेपालमा रहेका म्यानपावर कम्पनीहरू पनि जिम्मेवार हुनुपर्ने बताए । मलेसियामा रहेका कम्पनीसँग कामदारको सेवा–सुविधा, होस्टललगायतका विषयमा द्विपक्षीय छलफल नभई कामदार मलेसिया आउन नसक्ने भन्दै उनले नेपालमा रहेका म्यानपावर कम्पनीहरूलाई जिम्मेवार र जवाफदेही बनाउन आफूले पहल गर्ने पनि बताए ।
मलेसियामा करिब ८ सय इजाजतपत्र प्राप्त सुरक्षा गार्ड कम्पनीहरू छन्, जसमध्ये धेरैले नेपालबाट सुरक्षा सेवाका लागि कामदार आपूर्ति गर्ने गरेका छन् । काउन्सिलर (श्रम) भुसालले पुराना कम्पनीका हकमा उनीहरूसँग कार्यरत नेपालीहरूको अवस्थाबारे जानकारी लिएर मागपत्र प्रमाणीकरण गर्ने गरिएको बताए । उनले नयाँ कम्पनीका हकमा पुरानो रेकर्ड नहुने भएकाले मागपत्र प्रमाणीकरण गर्न केही बढी सोधखोज गर्नुपर्ने भएपनि प्रमाणीकरण नगरी बस्न नसकिने बताए । हाल मलेसियामा ३० हजारभन्दा बढी नेपाली सुरक्षा गार्डको रूपमा कार्यरत रहेको अनुमान छ ।