२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

खाडी देशमा नेपाली कामदार : जोखिम छ, तर फर्किन चाहनेको संख्या छैन उल्लेख्य 

shivam cement
रुपेश आचार्य
२०८२ चैत ८ गते ०६:२०
Shares
खाडी देशमा नेपाली कामदार : जोखिम छ, तर फर्किन चाहनेको संख्या छैन उल्लेख्य 

काठमाडौं : खाडी देशमा रहेका ८२ हजार नेपालीले परराष्ट्र मन्त्रालयअन्तर्गतका निकायमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आफूहरू असुरक्षित स्थानमा रहेको जानकारी दिने नेपालीको संख्या करिब ६ हजार रहे पनि नेपाल फर्किन माग गर्ने कामदार भने साउदी अरब र कुवेतमा गरी ५१ जना मात्र छन् । 

वैदेशिक रोजगारीमा जानेमध्ये करिब ६ हजारले आफूहरू असुरक्षित स्थानमा रहेको जानकारी गराएका छन् । तर तत्काल घर फर्किन माग गर्नेको संख्या भने खासै ठूलो नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । ‘विशेष कामले स्वदेश फर्किनैपर्ने’ भन्दै उनीहरू उडान पर्खिरहेको जानकारी परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले दिए ।  

करिब दुई साताअघि अमेरिका र इजरायलले इरानमा ‘अपरेसन फ्युरी’ नामक सैन्य कारबाही सुरु गरिएपछि नेपाल सरकारले गत फागुन १७ गते मध्यपूर्वका इजरायल, इरानलगायत १२ मुलुकमा नयाँ–पुराना सबै श्रम स्वीकृति रोकेको थियो । त्यसपछि सरकारले परराष्ट्र मन्त्रालयको नेतृत्वमा खाडी मुलुकमा गर्नुपर्ने उद्धारलगायत आकस्मिक कार्यहरूको संयोजन गर्न थालेको थियो । यद्यपि अहिलेसम्म ‘आफूहरूलाई नेपाल फर्काउनुपर्‍यो’ भन्ने माग सोचिएजत्तिको ठूलो संख्यामा नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री बताउँछन् । 

अहिले साउदी अरबको जेद्दामा ४० जनाजतिले उडानमार्फत नेपाल फर्किन निवदेन दिएको जानकारी पनि ती अधिकारीले दिए । ‘उनीहरूको हातमा फर्किने टिकट भए पनि उडान सुचारु हुन नसकेका कारण हरेक दिन उडान रद्द गर्दै बसेका रहेछन् । दूतावासले उहाँहरूसँग सम्पर्क गरिरहेको छ, भारतबाट उद्धार उडान हुनासाथ उहाँहरूलाई ल्याइनेछ,’ उनले भने । 

त्यसबाहेक कुवेतबाट ११ जना नेपालीले उद्धार उडानका लागि निवेदन दिएकामा परराष्ट्र मन्त्रालयले रियादस्थित दूतावासमा पठाइसकेको जानकारी पनि उनले दिए । नेपाल फर्किनैपर्ने अवस्थामा रहेकालाई साउदी अरेबिया हुँदै फर्काउन सकिने र त्यसका लागि दूतावासले भिसा सहजीकरण गरिदिने उनले बताए । 

अमृत झाको उद्धारका लागि पहल 

यसैबीच, इरानी सेनाको नियन्त्रणमा परेका उदयपुरका अमृत झा दुबईको तेल बोक्ने जहाजमा सिप क्याप्टेनका रूपमा कार्यरत रहेको खुलेपछि परराष्ट्र मन्त्रालयले कतारस्थित नेपाली राजदूतावासलाई सक्रिय गराएको छ । ‘झाको परिवारबाट निवेदन परेको छ, हामी काम गर्दै छौं’ उनले भने । महोत्तरी घर भएका झा उदयपुरको त्रियुगा नगरपालिका–११मा बस्दै आएका थिए । 

दूतावासका साथै इरानका लागि नेपाली अवैतनिक वाणिज्य दूत नरेश श्रेष्ठलाई पनि यसबारे सम्पर्क गरिसकिएको जानकारी पनि ती अधिकारीले दिए ।

झा दुबईमा काम गर्नका लागि दुई वर्षअघि नेपालबाट गएका थिए । झाकी दिदी पूजाले शुक्रबार परराष्ट्र मन्त्रालयमा निवेदन दिँदै अमृत एक सातादेखि इरानी सेनाको नियन्त्रणमा रहेकाले उद्धारका लागि पहल गर्न आग्रह गरेकी थिइन् । 

मध्यपूर्वका सरकारी निकाय तथा दूतावासहरूले मोबाइलको इमर्जेन्सी अलर्टमा सतर्क रहने, घरबाहिर अति आवश्यक हुँदा मात्र निस्किने साथै आधिकारिक स्रोतबाट आएका सूचना र खबरलाई मात्र विश्वास गर्ने, अफवाह नफैलाउने, मिसाइल र ड्रोनहरू आकाशमा विस्फोट भएपछि झरेका टुक्राहरूको छेउछाउ नजाने, नछुनेलगायत चेतावनीमूलक सन्देश पठाइरहेका छन् । 

सतर्कताका लागि त्यहाँको सरकारले अफवाह फैलाउने समाचारबाट टाढा बस्ने, विस्फोट, आगलागी वा युद्धसँग सम्बन्धित कुनै पनि श्रव्यदृश्य सामग्री रेकर्ड नगर्ने र सामाजिक सञ्जालमा पोस्ट नगर्ने, बाहिर निस्किँदा कुनै असामान्य लाग्ने वा शंकास्पद वस्तु देखेमा त्यसलाई नछुने र आपतकालीन नम्बरमा फोन गरेर तत्काल जानकारी दिने आदि जानकारी दिएको र नेपालीहरू जोखिममा परको समाचार अहिले प्राप्त भएको जानकारी पनि परराष्ट्र मन्त्रालय स्रोतले दियो । 

आइतबारदेखि पुनः श्रम स्वीकृति 

अमेरिका–इरान द्वन्द्वका कारण मध्यपूर्वमा तनाव बढेलगत्तै खाडी राष्ट्रहरूमा श्रम स्वीकृति दिन पूर्णतः रोकेको सरकारले कम जोखिमका सात राष्ट्रका हकमा आइतबारदेखि पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ । मध्यान्हसँग कुरा गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले चैत ३ गतेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित कार्यालयलाई परिपत्र गरिएको तर बिदा परेका कारण आइतबारदेखि कार्यान्वयनमा आउने जानकारी दिए ।

युद्धग्रस्त पाँच देशबाहेक अन्य देशबाट छुट्टीमा स्वदेश फर्किएका कामदारले आफूहरू नफर्किंदा  पाउनुपर्ने पारिश्रमिकलगायत सुविधाबाट वञ्चित हुनसक्ने भएकाले फर्किनैपर्ने जानकारी श्रम र परराष्ट्र मन्त्रालयमा दिएका थिए । 

‘त्यसो भएपछि गत चैत ३ गते कम जोखिम भएका सात खाडी देशका लागि पुनः श्रमस्वीकृति खुलाइएका हो,’ प्रवक्ता घिमिरेको भनाइ थियो । युद्धग्रस्त पाँच खाडी राष्ट्रको हकमा आकस्मिक उद्धारका लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा इमरजेन्सी एक्सन टिम बनाइएको र त्यसले आवश्यक समन्वय गरिरहेको जानकारी पनि उनले दिए । 

खाडीमा तनाव हुनुअघिसम्म दैनिक एक हजार पाँच सयदेखि तीन हजार–३५ सयसम्म नेपालीले श्रम स्वीकृति लिने गरेका थिए । 

सम्बन्धित खबर