२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

कामदारलाई ज्यान भन्दा जागिरको माया

shivam cement
मधु शाही
२०८२ चैत १० गते ०६:१५
Shares
कामदारलाई ज्यान भन्दा जागिरको माया

काठमाडौं : छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतार नआउन सुझाव दिएका छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतलाई वैदेशिक रोजगारमा नगइ सुख छैन । युद्धको प्रवाह नगरी उनी दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन् ।

उनी भन्छन्, ‘साथीले नआइज भन्छन्, नजाउँ जागिर खोसिने डर छ ।’ उनी घर आएको एक हप्तामा अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए । होटलमा सेफको जागिर गरेर उनले मासिक दुई लाख आम्दानी गर्छन् । जुन रकम उनले घर पठाउँछन् ।

गाउँमा बस्दा जतिसुकै मिहिनेत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेश नै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए । यही मार्च २५ तारिखमा कतार प्रस्थान गर्न लागेका उनले भने, ‘जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।’

युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छ भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । तर फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा लामाले बताइन् । छोराछोरीसहित काठमाडौंमा बसेकी काभ्रेपलाञ्चोककी रुमा श्रीमान्लाई फर्किन आग्रह गरे पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउँछिन् ।

रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनका श्रीमान् खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गरिरहेका छन् ।

साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरे सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी छन् । श्रम स्वीकृति रोकिँदा काम गर्न जान नपाइने हो कि भन्ने चिन्ताले सताएको उनले बताए । उनले भने, ‘उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर । गरिबलाई जतासुकै डरै डर छ ।’

यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् । कुवेतको एक क्याफेमा वरिष्टाको कामदार रहेका विमल (नाम परिवर्तन) राई मिलेसम्म स्वदेश फर्किन चाहन्छन् । अहिले सबै सामान्य जस्तो देखिएपनि एरपोर्ट, तेल खानीतिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको उनी बताउँछन् । ‘फर्किन पाएँ भने जागिरै छोडेर आउन तयार छु,’ उनी भन्छन्, ‘कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक संकट देखिन थालेको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।

श्रम स्वीकृति खुला भएपछि पुनः श्रम स्वीकृति लिनेको संख्या दैनिक एक हजारदेखि एक हजार १ सयसम्म रहेको वैदेशिक रोजगार विभागको श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले जानकारी दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले कामदारहरूका लागि चुनौती छ । उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षाका लागि सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ । 

श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको मागअनुसार परराष्ट्र मन्त्रालयले चैत ३ गते सिफारिस गरेबमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरेको हो ।

मन्त्रालयले स्थगन भएका मुलुकहरूमध्ये साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आएर पुनः ती देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यद्यपि सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनः जान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिइएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनः विदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छुट्टीमा विदेशबाट घर आएका नेपाली कामदारले समयमा जान नसेकमा रोजगार गुम्ने हुँदा उनीहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार १७ लाख २९ हजार नेपाली खाडी मुलुकमा श्रमिक छन् ।

सम्बन्धित खबर