
दम्माम, साउदी : अरब साउदी अरबको पूर्वी प्रान्त दम्माममा सम्पन्न ‘चौथो दम्माम च्याम्पियन कप–२०२६’ को उपाधि युनाइटेड फुटबल क्लब (युनाइटेड एफसी) ले चुमेको छ ।
युनाइटेड नेपाल फुटबल क्लब दम्मामद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनलमा नेपालगन्ज फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि कब्जा गरेको हो । गत १९ मार्चदेखि सुरु भएको प्रतियोगितामा साउदी अरबका विभिन्न क्षेत्रबाट १६ नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा युनाइटेड एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बनेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा नेपालगन्ज एफसी उपविजेतामा चित्त बुझाउन बाध्य भयो भने लिम्बुवान फुटबल क्लबले ‘फेयर–प्ले टिम’ को उपाधि प्राप्त गरेको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिए तापनि फाइनल खेलमा देखिएको प्राविधिक त्रुटिले केही समय अन्योलता सिर्जना गरेको थियो । प्रतियोगिताका अघिल्ला खेलहरू ५० मिनेटको समय सीमामा खेलाइएको भए पनि फाइनल खेलमा समय बढाएर ६० मिनेट पुर्याउने निर्णय भएपछि रेफ्रीमा अन्योल देखिएको थियो ।
रेफ्रीले उक्त प्राविधिक त्रुटिप्रति माफी मागेका छन् भने आयोजकले पनि सो विषयमा समन्वयको प्रयास गरिएको जनाएको छ । उपाधि छिनोफानो भए पनि उपविजेता टोली नेपालगन्ज फुटबल क्लबले खेल सञ्चालनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।
नेपालगन्ज एफसीले आयोजक युनाइटेड एफसीलाई औपचारिक पत्र लेख्दै फाइनल खेल सञ्चालनमा गम्भीर त्रुटि भएको र कतिपय निर्णयहरू नियमविपरीत भएको आरोप लगाएको छ । यसैबीच, खेलको दौरान मैदानभित्र र बाहिर केही खेलाडी तथा समर्थकबाट अनुशासनविपरीतका गतिविधि भएको भन्दै आयोजकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोजक समितिले आगामी दिनमा यस्ता कमीकमजोरीबाट पाठ सिक्दै प्रतियोगितालाई थप व्यवस्थित, निष्पक्ष र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रवासमा रहेका नेपालीहरूबीच आपसी भाइचारा, एकता र खेलकुदप्रतिको मोहलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।