
मलेसिया : मलेसियाको पेनाङमा सम्पन्न तेस्रो संस्करणको ‘एन पेनाङ गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि आयोजक एन पेनाङ एफसीले जितेको छ ।
आइतबार भएको फाइनलमा एन पेनाङ एफसीले मकालु एफसी (जोहोरबारु)लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलभर आक्रामक प्रदर्शन गरेको एन पेनाङले सुरुदेखि नै पकड जमाउँदै एकतर्फी खेल प्रस्तुत गरेको थियो ।
उपाधिसँगै एन पेनाङ एफसीले ३३ हजार मलेसियन रिंगेटसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता मकालु एफसीले १७ हजार रिंगेटमा सीमित रह्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभिपी) एन पेनाङका कप्तान लाहान सुब्बा घोषित भए । उनले पुरस्कारस्वरूप आइफोन १७ प्रो म्याक्स प्राप्त गरे ।
मलेसियाको प्रमुख पर्व ‘हरि राया ऐदिलफित्रि’को अवसरमा आयोजना गरिएको प्रतियोगितामा देशभर रहेका १६ नेपाली फुटबल क्लबको सहभागिता रहेको थियो ।
मार्च २१ र २२ मा सम्पन्न प्रतियोगिता सौहार्दपूर्ण र भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजक क्लबका अध्यक्ष अंकित थापाले जानकारी दिए ।
विदेशमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, सहकार्य र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आगामी दिनमा यसलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।