२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

रामनवमीका दिन गौरमा मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत १२ गते १५:११
Shares
रामनवमीका दिन गौरमा मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिकाले हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व रामनवमीको अवसर पारेर नगर क्षेत्रभित्र माछा, मासु तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा एकदिनका लागि पूर्ण प्रतिबन्ध लगाएको छ । नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक अपिल जारी गर्दै चैत १३ गते शुक्रबार यस्ता वस्तुको खरिद–बिक्री र सेवन नगर्न आग्रह गरेको हो ।

यस वर्ष रामनवमीको अवसरमा गौरमा स्थानीय युवाहरूको अगुवाइमा ‘श्री रामनवमी विशाल शोभा यात्रा’ आयोजना हुँदैछ । शोभायात्रासँगै विभिन्न सांस्कृतिक कार्यक्रम र आकर्षक झाँकी प्रस्तुत गरिने तयारी छ । उक्त धार्मिक कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र आध्यात्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रतिबन्ध लगाइएको नगरप्रमुख शम्भु साहले जानकारी दिए ।

नगरपालिकाले जारी गरेको सूचनामा शोभायात्रा सफल बनाउन नगरवासीलाई सहयोग गर्न आग्रह गर्दै मांसाहारी परिकार तथा मदिराजन्य पदार्थको बिक्री वितरण नगर्न अपिल गरिएको छ ।

नगरप्रमुख साहका अनुसार रामनवमीका दिन मासु र मदिरा मात्र होइन, अन्य लागुपदार्थको बिक्री र सेवनमा समेत पूर्ण रोक लगाइनेछ । नियम उल्लंघन गर्नेहरूलाई स्थानीय प्रशासन र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

पर्वका बेला शान्ति सुरक्षा कायम राख्न नगर प्रहरी तथा स्थानीय प्रशासनलाई विशेष निगरानी बढाउन निर्देशन दिइएको जनाइएको छ ।

धार्मिक सद्भाव कायम राख्दै पर्वलाई सभ्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले गरिएको यस निर्णयलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ । शुक्रबार आयोजना हुने शोभायात्रामा हजारौं श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर