२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

उद्धारका नाममा हुने गतिविधि रोक्न विभागको निर्देशन

Nada
२०८२ चैत १७ गते ०६:२०
Shares
उद्धारका नाममा हुने गतिविधि रोक्न विभागको निर्देशन

काठमाडौं : वैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुकमा समस्यामा रहेका कामदारको उद्धारका नाममा सञ्चालन गरिएका गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

ncell

विभागको राहत तथा उद्धार शाखाले वैदेशिक रोजगारका लागि गन्तव्य मुलुकमा गई समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार गर्ने नाममा विभिन्न संघ–संस्थाहरूले कानुनविपरीत गतिविधि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ ले गैरसरकारी संस्थाहरूलाई त्यस्तो अधिकार नदिएको पनि विभागले बताएको छ ।

विभागले भनेको छ, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ मा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू युद्ध, महामारी वा अन्य समस्यामा परी उद्धार गर्नुपर्ने अवस्था आएमा सोको पूर्ण जिम्मेवारी नेपाल सरकार र सम्बन्धित देशमा रहेको नेपाली कूटनीतिक नियोग र राजदूतावासलाई हुने व्यवस्था हुँदाहुँदै केही गैरसरकारी संस्था वा व्यक्तिहरूले कानुनमा नभएको अधिकार प्रयोग गरी श्रमिक वा निजका परिवारलाई प्रभावमा पारी उद्धारको भ्रम फैलाउने गरेको सूचना प्राप्त भएको छ, जुन पूर्ण रूपमा गैरकानुनी कार्य हो ।’

हाल केही गैरसरकारी संस्थाले उद्धारका नाममा आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्ने र नियमित काममा रहेका कतिपय कामदारलाई श्रम गन्तव्य मुलुकबाट घर फर्काउन उक्साउने गरेका कारण समस्या उत्पन्न भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको भनाइ छ ।

विभागबाट अनुमति प्राप्त नगरी वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि सेवा वा उद्धारको कार्य गर्नु वैदेशिक रोजगारसम्बन्धी कानुनको उल्लंघन हुने विभागले बताएको छ । समस्यामा परेका श्रमिकलाई उद्धार गर्नु परेमा सोझै वैदेशिक रोजगार विभागको इमेल वा ह्वाट्सएप नम्बर वा सम्बन्धित देशको नेपाली राजदूतावासमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

आधिकारिक प्रक्रिया बाहिरबाट गरिने उद्धारका प्रयासहरूले श्रमिकलाई थप जोखिममा पार्ने र कानुनी जटिलता निम्त्याउन सक्ने भन्दै विभागले भनेको छ, ‘कानुनविपरीत खडा भएका कुनै पनि संघ–संस्था वा व्यक्तिबाट अब उप्रान्त यस प्रकारको कार्य भए–गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।’

सम्बन्धित खबर