
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूकाे नवीकरण खुला गरेको छ ।
मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णयमार्फत नेपाल सरकारबाट स्वीकृति प्राप्त तथा सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूलाई वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि आवेदन दिन आह्वान गर्ने निर्णय गरेको हो । यससँगै स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सेवा थप व्यवस्थित, विश्वसनीय र पहुँचयोग्य बनाउन यस्तो निर्णय गरिएको हो ।
प्रचलित कानुनी व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारले विदेश प्रस्थान गर्नुअघि अनिवार्य रूपमा नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२(१) ले यस्तो प्रावधान स्पष्ट रूपमा व्यवस्था गरेको छ ।
त्यसैगरी, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५क. (९) मा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट समेत स्वास्थ्य परीक्षण गराउन सकिने उल्लेख गरिएको छ । मन्त्रालयले यही कानुनी व्यवस्थालाई कार्यान्वयनमा प्रभावकारी बनाउन सूचीकरण प्रक्रिया खुला गरिएको जनाएको छ ।
