२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

‘अब राजदूत बिचौलियाका डिनर टेबलमा होइन, श्रमिकका शिविरमा भेटिनेछन्’

Nada
२०८२ चैत २० गते ०६:१५
Shares
‘अब राजदूत बिचौलियाका डिनर टेबलमा होइन, श्रमिकका शिविरमा भेटिनेछन्’

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान प्रतिनिधिसभाको वास्तविक रचयिता वैदेशिक रोजगारीमा रहेका कामदार रहेको भन्दै सरकारको आगामी नीति, कार्यक्रम र बजेट उनीहरूमा केन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बिहीबार दलीय आधारमा बोल्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन् ।

ncell

उनले भने, ‘आजको संसद्को जनादेशका वास्तविक रचयिता हुनुहुन्छ वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू । यो देशमा सधैं तपाईंहरूले पठाउनुभएको रेमिट्यान्सको कुरा भयो, तर आज म पैसाको रूपैयाँको होइन, तपाईंहरूले तिर्नु भएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलग्गिनु भयो, आमाबुवाको साथ गुमाउनुभयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनुभयो । चाडपर्वको रमाइलो, परिवारको माया र गाउँघरको न्यानोपन गुमाउनुभयो । कतिले आमाबाबुको मृत्युमा काँध थाप्न पाउनुभएन, कतिले सन्तानको पहिलो पाइला देख्न पाउनुभएन । आज म यहीँबाट क्षमायाचना गर्छु– यसअघिका सरकारले तपाईंहरूको सम्मान गरेनन् । अब तपाईंहरूको त्यागको कथा मात्रै बन्ने छैन, नीति बन्नेछ । राज्यको प्राथमिकता बन्नेछ ।’

त्यसैगरी सभापति लामिछानेले वैदेशिक रोजगारीमा वर्षौंदेखि रहेको ठगी तथा बिचौलियाको अन्त्य गर्ने वर्तमान सरकारको प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘बिचौलिया र श्रम माफिया अब कारबाहीका भागिदार बन्नेछन् । अबको नीति कार्यक्रम तपाईंहरूको हुनेछ ।’

त्यसैगरी उनले खाडी मुलुकमा गएका यसअघिका राजदूतहरूको भूमिकाप्रति आक्रोश व्यक्त गरे । राजदूतहरू नेपाली कामदारको हकहितका लागि हरदम तयार रहनुपर्ने उनको जिकिर थियो । उनले भने, ‘अब खाडीका देशहरूमा जाने राजदूत बिचौलियाका डिनर टेबलमा होइन, श्रमिकका शिविरमा भेटिनेछन् ।’

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिकको जनमत पाएको रास्वपाले वैदेशिक रोजगारीमा जाने क्रमलाई निरन्तरता दिँदै यस क्षेत्रमा मुख्यतः ७ क्षेत्रमा सुधार गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ । रास्वपाले वैदेशिक रोजगारीमा जाने नागरिकहरूको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाउने, ठगी, अत्यधिक शुल्क असुली र झुटा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्ने, श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूका लागि विशेष परिचयपत्र जारी गर्ने र उक्त परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सामाजिक सेवामा सहुलियतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमाथि हुने शोषण अन्त्य गर्न दूतावासहरूलाई स्रोत सम्पन्न बनाई पुनः एकीकरणका प्याकेजमार्फत सामाजिक सुरक्षा सुनिश्चित गर्दै निर्वाचनमा सहभागी गराउन ‘अनलाइन’ वा ‘दूतावास’मार्फत मतदानको अधिकार सुनिश्चित गर्ने बताइएको छ । प्रवासका दशौं लाख नेपालीहरू केवल विप्रेषण पठाउने मानिस मात्र होइनन्, नेपालको ब्रेन गेन र आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भ पनि भएको रास्वपाले वाचापत्रमा उल्लेख गरेको छ ।

सम्बन्धित खबर